पोखरा । सशस्त्र प्रहरी बल नेपालको २५ औं स्थापना दिवस (रजत जयन्ती)को अवसरमा पोखरा महानगरपालिका–५ मालेपाटन विचारीचोकमा आइतबार नवनिर्मित ढुङ्गेधारा उद्घाटन गरिएको छ।
सशस्त्र प्रहरी बल नं. २४ गण हेडक्वार्टर कालिका गण कास्की र पोखरा महानगरपालिका वडा नं. ५ को सहकार्यमा क्विक इम्प्याक्ट प्रोजेक्ट (QIP) अन्तर्गत निर्माण भएको ढुङ्गेधारा समुदायलाई हस्तान्तरण गरिएको हो।
कार्यक्रममा प्रमुख अतिथि गणपति सशस्त्र प्रहरी उपरीक्षक सूर्य प्रसाद तिमिल्सेनाले ढुङ्गेधारा उद्घाटन गर्नुभयो। उनले ढुङ्गेधारा निर्माणले स्थानीय समुदायलाई खानेपानीको समस्या समाधान गर्न सहयोग पुग्ने बताए। सशस्त्र प्रहरीले सुरक्षाका साथै विकासमा समेत योगदान पुर्याउने प्रतिबद्धता जनाउँदै स्थानीय निकायसँगको सहकार्यमा सञ्चालित यस्ता परियोजनाले जनताको जीवनस्तर सुधार गर्न मद्दत पुग्ने उनले बताए।


सशस्त्र प्रहरीको रजत जयन्तीको अवसरमा यस्तो जनउपयोगी परियोजना सञ्चालन गरेकोमा वडा अध्यक्ष विष्णु प्रसाद बरालले धन्यवाद दिए। उनले यो ढुङ्गेधारा स्थानीय बासिन्दाका लागि महत्वपूर्ण संरचना भएको बताए।
सशस्त्र प्रहरी बलले स्थापना दिवसको अवसरमा विभिन्न जनउपयोगी कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस्ता परियोजनाले स्थानीय समुदायसँग सशस्त्र प्रहरीको सम्बन्ध मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। अब यसको संरक्षण र संचालन स्थानीय समुदायले गर्ने भएका छन्।

कार्यक्रममा वडा सदस्यहरू तथा स्थानीय बासिन्दाको उपस्थिति थियो।





