सुचना१
newa srijana

१३ दिनसम्म हरेक साँझ लाइभ ब्याण्डः पोखरामा पृथक स्वादको पोखरा महोत्सव, दर्शकको उर्लदो सहभागिता

पोखरा । युनाईटेड क्लबले अन्य मेला–महोत्सवभन्दा फरक पहिचान बनाउँदै आएको पोखरा महोत्सवको १४ औं संस्करण भव्य र सभ्य रूपमा सञ्चालन भइरहेको छ । शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटन प्रवद्र्धनलाई मुख्य उद्देश्य बनाएर स्थापना कालदेखि नै अमरसिंह खेल मैदानमा महोत्सव आयोजना गर्दै आएको क्लबले यस वर्ष पनि पृथक शैलीलाई निरन्तरता दिएको छ ।

पुष २९ गतेदेखि सुरु भएको पोखरा महोत्सव आठौं दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य सहभागिता देखिएको छ । पोखरामा आयोजना हुने अन्य मेला–महोत्सवभन्दा फरक ढंगले सञ्चालन हुने भएकै कारण पोखरा महोत्सवले दर्शकको साथ र माया पाउँदै आएको युनाईटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले बताए ।

उनका अनुसार पोखरा महोत्सवको मुख्य विशेषता भनेकै १२ देखि १३ दिनसम्म हरेक साँझ लाइभ ब्याण्डको प्रस्तुती हो । युवाहरूको रुचि र चाहनालाई केन्द्रमा राखेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चित ब्याण्डहरूको लाइभ प्रस्तुती दिइने भएकाले पोखरा महोत्सव पृथक बनेको बख्रेलको भनाइ छ । लाइभ ब्याण्ड प्रस्तुती खर्चिलो भए पनि सुरुवाती समयदेखि नै हरेक संस्करणमा निरन्तरता दिँदै आएको र दर्शकको भरपूर साथकै कारण महोत्सव १४ औं संस्करणसम्म आइपुगेको उनले बताए ।

Pokhara महोत्सव

महोत्सवमा यसअघि लाहुरे, डीमर्चा, लेकाली, अनुप्रस्थ लगायतका चर्चित ब्याण्डले प्रस्तुती दिइसकेका छन् । कलाकार व्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाका अनुसार माघ ८ गते चर्चित गायक सबिन राईको लाइभ कन्सर्ट हुन बाँकी छ । त्यसैगरी रकहेड्स, जेम्सी, भीटेन, पर्पललगायतका कलाकारहरूको ¥याप तथा लाइभ प्रस्तुती पनि महोत्सवको आकर्षण बनेको छ ।

महोत्सवको आठौं दिन लोकदोहोरी गायिका प्रीति आलेले दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरिन् । भाइरल गीत ‘झोरा’ प्रस्तुत हुँदा दर्शक नाच्दै माहोल रंगीन बनेको थियो । प्रीति आलेसँगै प्रजापति पराजुली, चोलेन्द्र पौडेल, शंकरविरही गुरुङ, सुनिता नेपाली, सरला पाण्डे, प्रशान्त तामाङ, पूजा तामाङलगायत कलाकारहरूको प्रस्तुतीले दर्शकलाई रमाइलो बनायो । साँझको लाइभ ब्याण्डतर्फ एवाईजीको प्रस्तुतीमा युवाहरू झुमेका थिए ।

महोत्सवको नवौं दिन लोकदोहोरीतर्फ शान्तारानी परियार, पार्वती जिसी, चोलेन्द्र पौडेल, रामचन्द्र पौडेल (आरसी), मधु थापा मगर, कृष्ण भट्टराई, आरोही रुचाललगायत कलाकारहरूको प्रस्तुती रहनेछ । साथै जादुगर दीपक थापा मगरको जादु कला र साँझको लाइभ ब्याण्डतर्फ रकहेड्सको प्रस्तुती रहने महोत्सवका प्रचार–प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

महोत्सवमा आयोजित विद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा मंगलबार डायमण्ड सेकेण्डरी स्कुल, सूर्योदय स्कुल र ज्ञानुबाबा स्कुलको प्रस्तुती रहेको थियोभने बुधबार कास्की मोडनाइज्ड, सोसल पब्लिक स्कुल, अमरसिंह मावि (ई) र डियरवक स्कुलको प्रस्तुती रहने छ ।

पुल सेन्टर
वडा नं २६