newa srijana

वालिङ–चापाकोट सडक खण्डमा ट्याक्टर दुर्घटना, दुईको मृत्यु

पोखरा । स्याङ्जाको वालिङ–चापाकोट सडक खण्डमा शुक्रबार दिउँसो भएको ट्याक्टर दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार वालिङबाट चापाकोट तर्फ ढुङ्गा बोकेर जाँदै गरेको लु ३ त ५१७३ नम्बरको ट्याक्टर सडकबाट करिब १० मिटर तल खोल्सामा खसेको हो। ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी ट्याक्टरमा सवार छ जनामध्ये वालिङ–७ का ६५ वर्षीय डोलराज कोइराला र कैलालीको टिकापुर–७ का ३५ वर्षीय राजकुमार चौधरीको मृत्यु भएको पुष्टि भएको छ। उनीहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा लगेर इसिजी गर्दा मृत घोषणा गरिएको थियो।

World link net

घाइते चार जनालाई थप उपचारका लागि पोखरा रिफर गरिएको प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए। ट्याक्टर चालक पश्चिम नवलपरासीको सरवल गाउँपालिका–१ का २८ वर्षीय लालबहादुर सुनार शरीरका विभिन्न भागमा चोट लागी पोखरा रिफर भएका हुन्।

त्यस्तै कैलालीको लम्की–५ का २२ वर्षीय श्याम चौधरी, सोही ठाउँका ३९ वर्षीय लक्ष्मण चौधरी र दाङको राप्ती गाउँपालिका–५ का ३५ वर्षीय हुकुमबहादुर दर्लामी मगरलाई पनि चोटपटक लागी उपचारका लागि पोखरा पठाइएको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घाइतेहरूको स्वास्थ्य अवस्थामा निगरानी राखिएको प्रहरीले बताएको छ।

सिटीजन फनिच्रर