newa srijana

विरुवामा भरुवा बन्दुकसहित तीन जना पक्राउ

पोखरा । आसन्न प्रतिनिधिसभा निर्वाचन २०८२ को सुरक्षाका लागि खटिएको प्रहरीको विशेष सर्च अप्रेसन टोलीले विरुवा गाउँपालिका–३ सिउडीबाट चार नाल भरुवा बन्दुक र सोसँग सम्बन्धित सामग्रीसहित तीन जना स्थानीयवासीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जा र प्रहरी चौकी विरुवाअर्चलेबाट खटिएको विशेष टोलीले शुक्रबार सिउडीमा छापा मारी भरुवा बन्दुक बरामद गरेको हो।

World link net

घरमा लुकाइछिपाइ राखिएको अवस्थामा बन्दुक फेला परेको प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए।पक्राउ पर्नेहरूमा सिउडी बस्ने ७७ वर्षीय तिलबहादुर पुलामी, सोही ठाउँका ६५ वर्षीय मिनबहादुर पुलामी र सोही ठाउँका ६५ वर्षीय रणबहादुर थापा रहेका छन्।

प्रहरीले तिलबहादुरको घरबाट दुई नाल एक नाले भरुवा बन्दुक, दुई सय २३ ग्राम बारुद, ३१ थान छर्रा, छर्रा बनाउन प्रयोग हुने एक थान सिसा र भरुवा बन्दुकमा प्रयोग हुने एक थान फलामको घोडा बरामद गरेको छ। मिनबहादुरको घरबाट एक नाल भरुवा बन्दुक, १७ थान छर्रा, ५० ग्राम बारुद र दुई थान केप बरामद गरिएको छ। रणबहादुरको घरबाट भने एक नाल भरुवा बन्दुक, २३ थान छर्रा, तीन सय ७० ग्राम बारुद र पाँच थान केप फेला परेको छ।

पक्राउ परेका तीनै जनाविरुद्ध आवश्यक अनुसन्धान र कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

सिटीजन फनिच्रर