सुचना१
newa srijana

छैटौं टाइगर कप भलिबल प्रतियोगिता शुक्रबारदेखि, विदेशी टिमको सहभागिता मुख्य आकर्षण

पोखरा । पोखरा रङ्गशालामा एनसेल छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुने भएको छ । माघ १७ गतेसम्म चल्ने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजक टाइगर ग्रुप अफ पोखरा, नेपालले जनाएको छ ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी दिँदै आयोजक समितिका संयोजक एवं टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले पोखरा रङ्गशाला स्थित भलिबल प्रशिक्षण केन्द्रमा खेल सञ्चालन गरिने बताए । नेपाल भलिबल सङ्घको स्वीकृति तथा गण्डकी प्रदेश भलिबल सङ्घको संयोजनमा आयोजना हुन लागेको यस प्रतियोगितामा महिलातर्फ ५ र पुरुषतर्फ ६ गरी ११ टिम सहभागी हुनेछन् ।

यस संस्करणको मुख्य आकर्षण विदेशी टिमको सहभागिता रहेको छ । महिलातर्फ थाइल्यान्डको थाइल्यान्ड क्विन्स र पुरुषतर्फ माल्दिभ्सको टिम प्रतिस्पर्धामा उत्रने छन् । नेपाली क्लबतर्फ महिला समूहमा नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र टिप टप न्यू डायमण्ड युथ स्पोट्र्स क्लब रहेका छन् । पुरुषतर्फ नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश भलिबल सङ्घ र पर्वत जिल्ला भलिबल सङ्घ खेल्ने टिम हुन्।

प्रतियोगिताको पहिलो दिन तीन खेल हुनेछन् । विजेता महिला तथा पुरुष दुवै टिमले समान पुरस्कार राशि पाउने आयोजकले जनाएको छ । प्रथम हुने टोलीले ६ लाख ६६ हजार ६६६ रुपैयाँ, द्वितीयले ३ लाख ६६ हजार ६६६ र तृतीय हुने टोलीले २ लाख ६ हजार ६६६ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

Tiger cup

सर्वोत्कृष्ट खेलाडीलाई २६ हजार ६६६ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने विधागत उत्कृष्ट खेलाडीलाई ११ हजार ६६६ बराबरको उपहार दिइनेछ । प्रत्येक खेलमा ‘टाइगर केल्मी अफ द म्याच’ घोषित खेलाडीलाई केल्मी नेपालको तर्फबाट सोभिनियर प्रदान गरिनेछ । दैनिक टिकट काटेर प्रवेश गर्ने दर्शकमध्ये एक जनालाई एक्सटेप नेपालको तर्फबाट टिसर्ट दिइने छ ।

प्रतियोगिता सञ्चालनका लागि करिब १ करोड ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताबाट बचत भएको रकम स्वास्थ्य, शिक्षा, खेलकुद तथा सामाजिक क्षेत्रमा लगानी गरिने आयोजक समितिका सचिव डीबी नेपालीले जानकारी दिए । दर्शकको सहजताका लागि अनलाइन टिकटिङको व्यवस्था मिलाइएको छ र टिकट दर ३०० रुपैयाँ तोकिएको छ । टिकट वितरण आईएमईको सहकार्यमा हुने जनाइएको छ । ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिलाई भने प्रवेश शुल्क लाग्ने छैन ।

प्रतियोगिताको प्रमुख प्रायोजकमा एनसेल रहेको छ भने सह–प्रायोजकमा वात्साल्य र धारा शुद्ध तोरी तेल रहेका छन् । सुरक्षाका लागि वडा प्रहरी कार्यालय रामबजारका प्रहरी र स्वयंसेवक परिचालन गरिनेछ । प्रतियोगिता स्थलमा डिजिटल बोर्ड, एलईडी स्क्रिन, लाइभ टेलिकास्ट र मिडिया व्यवस्थापनलाई विशेष प्राथमिकता दिइएको छ ।

अध्यक्ष शर्माको अध्यक्षतामा १०७ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । प्रतियोगिता संयोजकमा राजकुमार गुरुङ र सह–संयोजकमा डोलराज पोखरेल रहेका छन् । भलिबलको उर्वर भूमि मानिने पोखरामा सञ्चालन हुन लागेको छैटौं संस्करण सफल बनाउन सबै पक्षसँग सहयोग अपेक्षा गरिएको उनले बताए । आयोजकले प्रतियोगितालाई भव्य र मर्यादित बनाउन खेलप्रेमी दर्शक, सञ्चारकर्मी र सरोकारवालालाई प्रतियोगितामा उपस्थित हुन आग्रह गरेको छ ।

Pokhara महोत्सव
वडा नं २६