पोखरा । नेपाली टेबल टेनिसका उदीयमान खेलाडी रुबिन महर्जनलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउन आर्क्स फुड र राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीबीच साझेदारी भएको छ। यो साझेदारीमार्फत् महर्जनलाई विश्वस्तरीय प्रतिस्पर्धाका लागि आवश्यक पर्ने सहयोग उपलब्ध गराइने भएको हो।
विश्व वरीयताक्रममा हाल ५२७औं स्थानमा रहेका महर्जनलाई प्रशिक्षण, यात्रा र प्रतियोगितामा सहभागिताका लागि चाहिने सहयोग आर्क्स फुडले गर्ने जनाएको छ। नेपालको खेल प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रवर्द्धन गर्ने उद्देश्यले यो पहल सुरु गरिएको कम्पनीले जनाएको छ।
खेल क्षेत्रको विकासमा निजी क्षेत्रको भूमिका बढाउनुपर्ने र नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउन यस्ता साझेदारी जरुरी रहेको आर्क्स फुडका प्रतिनिधिले बताएका छन्। कम्पनीले युवा खेलाडीलाई प्रोत्साहन गर्दै खेलकुद क्षेत्रमा दीर्घकालीन योगदान दिने योजना बनाएको छ।

राष्ट्रिय क्रिकेट टोलीमा आफ्नो लामो अनुभव बोकेका सोमपाल कामीले खेलाडीको करियर निर्माणमा यस्तो सहकार्य अत्यावश्यक भएको बताए। नेपालमा प्रतिभाको कमी छैन तर अवसर र सहयोगको अभावले धेरै खेलाडी अगाडि बढ्न सकेका छैनन् उनले भने रुबिनजस्ता खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन सघाउनु हाम्रो जिम्मेवारी हो।
यस सहयोगप्रति आभार व्यक्त गर्दै खेलाडी महर्जनले अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन गरेर देशको नाम चम्काउने संकल्प गरेका छन्। यो समर्थनले मेरो हौसला बढाएको छ। देशको प्रतिनिधित्व गर्दै अझ राम्रो नतिजा निकाल्न प्रयासरत रहनेछु उनले भने।
यो साझेदारी एकल खेलाडीको समर्थन मात्र नभई नेपाली खेलकुदको समग्र विकासतर्फको महत्त्वपूर्ण कदम भएको आर्क्स फुडले जनाएको छ। यस पहलले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्ने अवसर फराकिलो हुने र भविष्यमा अन्य खेलाडीलाई पनि प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।





