पोखरा । कास्कीको लेखनाथमा जारी २६औं आदर्श कप फुटबल प्रतियोगितामा एन्फा तनहुँले सेमिफाइनलमा स्थान बनाएको छ। आइतबार भएको खेलमा गन्नी एफसी पर्वतलाई २–१ गोलअन्तरले पराजित गर्दै तनहुँ अन्तिम चारमा प्रवेश गरेको हो।
आदर्श युवा क्लबको आयोजनामा माघ ९ देखि १६ गतेसम्म हुने प्रतियोगिताको तेस्रो दिन भएको खेलमा एन्फा तनहुँका सञ्जय श्रेष्ठले २६औं मिनेटमा डि एरियाबाट गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए।
रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलको ५५औं मिनेटमा गन्नी एफसीका सजिन थापाले गोल फर्काउँदै खेल बराबरीमा पुर्याए। तर ७१औं मिनेटमा गन्नी एफसीबाट भएको आत्मघाती गोलले खेलको नतिजा तनहुँको पक्षमा पार्यो।


आइतबारको खेलमा एन्फा तनहुँका गोलकिपर तोरण हिसानले उत्कृष्ट प्रदर्शन गर्दै म्यान अफ द म्याच बने। अहिलेसम्म कास्की ११, होराइजन क्लब वालिङ र एन्फा तनहुँ सेमिफाइनलमा प्रवेश गरिसकेका छन्। सोमबार म्याग्दी जिल्ला र सशस्त्र प्रहरी बलबीचको खेलबाट अन्तिम सेमिफाइनलिस्ट टोली निर्धारण हुनेछ।
“निरन्तरता हाम्रो प्रतिबद्धता, फुटबल खेलको विकास हाम्रो दृढता” भन्ने मूल नाराका साथ सञ्चालित प्रतियोगितामा विजेता टोलीले रु. ४ लाख ९९ हजार ९ सय ९९ नगदसहित शिल्ड, पदक र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु. ३ लाख ३३ हजार ३ सय ३३ नगदसहित शिल्ड, पदक र प्रमाणपत्र पाउनेछ।
व्यक्तिगत पुरस्कारतर्फ उत्कृष्ट खेलाडीलाई रु. २५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। अन्य विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई रु. १५ हजार नगदसहित सम्मान गरिने आदर्श युवा क्लबका अध्यक्ष पदम गुरुङले जानकारी दिएका छन्।





