सुचना१
newa srijana

कास्कीमा साइबर अपराधका २१३ उजुरी, अनलाइन ठगीमा १९ करोड क्षति

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीमा चालु आर्थिक वर्षको हालसम्म साइबर अपराधका २ सय १३ वटा उजुुरी परेका छन् भने तीमध्ये पीडित महिलाको संख्या १ सय २० रहेको छ । यता,अनलाइनमार्फत् विभिन्न प्रकृतिका ठगीका ६ सय ७ वटा उजुरी परेका छन् । त्यसमा १९ करोड १९ लाख ५० हजार रुपैयाँभन्दा बढी ठगीको दाबी गरिएको छ ।

प्रहरीले यस्ता उजुरीहरुलाई विद्युतीय कारोबार ऐन २०६३ अनुसार कारवाही गर्छ । जसमा कसूर प्रमाणित हुँदा ३ लाखसम्म जरिवाना र ५ वर्षसम्म कैदको व्यवस्था छ । ओटीपी मागेर ठूलै रकम ठगी गर्नेहरुलाई चाहिँ प्रहरीले ठगी मुद्दामै कारवाही अगाडि बढाउँदै आएको छ । तर, सामाजिक सञ्जालबाट हुने ठगीको अनुसन्धान गर्न प्रहरीलाई सजिलो छैन ।

नेपालमा टिकटकमात्र हाल दर्तामा रहेको छ । फेसबुकदेखि टेलिग्राम,एक्स,डिस्कर्ड र अन्य खेलसम्बन्धी एप्सहरु पनि दर्तामा छैनन् । त्यहाँबाट हुने ठगी,यौन उत्पीडन, बालबालिकालाई कुलतमा लगाउने प्रवृत्ति बढ्दो छ । नक्कली फेसबुक र एक्स आइडीबाट हुने धन्दा डरलाग्दो छ । चिठ्ठा परेको, अनलाइन सपिङ गराउने,विदेशबाट पठाएको पार्सल भन्सारमा रोकियो भन्नेजस्ता बहाना बनाएर ठगी गर्ने गिरोहको चंगुलमा मै हुँ भन्नेहरु पनि फसेका छन् ।

‘भन्न त नमिल्ला तर यहाँ नपढेकाभन्दा पढेका मान्छे बढी फसिएका छन्,’सोमबार पोखरामा आयोजित एक कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नवीन कार्कीले भने,‘फसिनुको एउटै कारण भनेको लोभ हो । कतिसम्म भने आफूले नाफाको काम गर्न लागेको कुरा छिमेकीलाई पनि भनिँदैन । किनकि, मान्छेलाई छिमेकी धनी हुन्छ कि भन्ने डर छ । छिमेकीलाई भने त उसले राम्रै सुझाव दिन्थ्यो होला नि ।’उनका अनुसार यसरी पैसा गुमाउनेमा क्याम्पसका प्राध्यापकदेखि कर्मचारीसम्म रहेका छन् । व्यापारीहरु पनि ठगिएका उजुरी आउने गरेको उनले सुनाए ।

Tiger cup

उनी पोखरा उद्योग वाणिज्य संघ तथा पोखरा जेसिजले आयोजना गरेको अनलाइन स्क्याम तथा विभिन्न ठगीका प्रवृत्ति र त्यसबाट जोगिन अपनाउनुपर्ने सचेतनाबारे बोल्दै थिए । एसपी कार्कीका अनुसार व्यक्तिका गोप्य फोटो र भिडियो सार्वजनिक गरिदिन्छु भन्दै धम्क्याउने र पटक–पटक पैसा असुल्ने प्रवृत्ति पनि उत्तिकै बढ्दो छ । त्यस्ता अपराध भने प्रहरीकहाँ कम आउने उनले बताए ।

‘सकेसम्म मागेजति पैसा दिनुहुन्छ । अन्तिममा ठूलै रकम दिनुपर्ने भयो भनेमात्र हामीकहाँ उजुरी लिएर आउनुहुन्छ । यस्तोमा देशका मै हुँ भन्ने मान्छेहरु फसेका छन्,’उनले भने,‘ नेपालको जनसंख्या करिब ३ करोड छ । तर, यहाँ नेपाल टेलिकम र एनसेलको सिम लिनेको संख्या ३ करोड ११ लाख ३३ हजार रहेको छ । अर्थात्, एकभन्दा बढी मोवाइल हुनेको संख्या बढी छ । र,मोवाइलबाटै सबै ठगी धन्दा भइरहेको छ ।’

अनलाइनबाट डर देखाउनु वा धम्क्याउने‘साइबर बुलिङ’,कसैको चरित्र हत्या गरिदिने,अपहरण गर्ने, मानव बेचविखन गर्ने,गलत सूचना फैलाउने प्रवृत्ति कम गर्न प्रहरीलाई नै हम्महम्मे परेको एसपी कार्कीको भनाइ छ ।
सो कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघ तथा कार्यक्रमका अध्यक्ष गोकर्ण कार्कीले अनलाइन ठगीबाट जोगिन प्रहरी–समुदाय हातेमालो र सचेतनामूलक कार्यक्रम आवश्यक रहेकोमा जोड दिए ।

पोखरा जेसिजका अध्यक्ष सुमन पहारीले लोभमा नफस्न र अनलाइन ठगीबाट जोखिन आफ्ना सूचनाहरु जोगाउन आग्रह गरे । कार्यक्रम संयोजक निश्चल खरेलले अहिलेको जमानामा प्रहरीले सडकमा गस्ती गरेर नभएर कम्प्यूटरमा बसेर नागरिकको सुरक्षा गर्नुपर्ने अवस्था आएको बताउँदै साइबर अपराधबाट जोगिन आफै सचेत बन्नुपर्ने बताए । पोखरा जेसिजका महासचिव संजय पौडेलले साइबर आक्रणमबाट पीडितहरुलाई घटना नलुकाउन र तत्काल प्रहरीमा जानकारी दिन आग्रह गरे ।

पोखरा उद्योग वाणिज्य संघ सामाजिक विकास केन्द्रका २९ जना कर्मचारीहरूका लागि साइबर क्राइम तथा मानसिक स्वास्थ्यसम्बन्धी तालिम दिइएको छ । भायनेटको आयोजनामा जिल्ला प्रहरी कार्यालय कास्कीले सो तालिममा सहजीकरण गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका वरिष्ठ सई होतबहादुर रोकाहाले साइबर अपराधका प्रकार, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, अनलाइन ठगी, डाटा सुरक्षा तथा कानुनी पक्षहरूबारे विस्तृत जानकारी प्रदान गरेका थिए । मानसिक स्वास्थ्यसम्बन्धी सेसनमा चाहिँ भायनेटका प्रदेश प्रमुख डिकेन्द्र थापा मुख्य वक्ता थिए ।

Pokhara महोत्सव
वडा नं २६