पोखरा । पोखरामा भोलिदेखि प्रतिभा सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगिता शुरु हुँदैछ । प्रतिभा मावि पोखराको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको सहयोग र समन्वयमा भोलिदेखि अन्तर माध्यमिक विद्यालय क्रिकेट प्रतियोगिता प्रतिभा सुपर लिग हुन लागेको हो । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा माघ २५ गतेसम्म हुने प्रतियोगिताको उद्घाटन भोलि आईतबार पूर्वाह्न ११ बजे हुने आयोजक प्रतिभा माविका प्राचार्य किरण सापकोटाले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन खेलमा भोलि आयोजक प्रतिभा मावि र वाराही माविबीच प्रतिष्पर्धा हुने जनाइएको छ । भोलि नै हुने दोस्रो खेलमा भने ग्लोबल कलेजियटबिरुद्द बाल मन्दिर मावि प्रतिष्पर्धामा उत्रिनेछन् ।
कुल १२ विद्यालय सहभागी प्रतियोगितामा माघ १९ गते कुमुदिनी होम्स मावि र छोरेपाटन मावि तथा मदरल्याण्ड र जनप्रिय मावि, माघ २० गते डायमण्ड मावि र बालमन्दिर मावि तथा नेपाल भारत मैत्री मावि र वाराही मावि, माघ २१ गते टप्स मावि र छोरेपाटन मावि तथा डायमण्ड मावि र ग्लोबल कलेजजियट, माघ २२ गते गुरुकुल र जनप्रिय तथा प्रतिभा मावि र नेपाल भारत मैत्री मावि र माघ २३ गते मदरल्याण्ड सेकेण्डरी र गुरुकुल विद्या सदन तथा कुमुदिनी होम्स र टप्स मावि प्रतिष्पर्धामा उत्रिने उनले जानकारी दिए । प्रतियोगिताको सेमीफाइनल खेल माघ २३ गते हुने जनाइएको छ ।

हरेक समूहबाट बिजेता बनेकाहरुले सेमीफाइनल खेल्ने प्राविधिक पक्ष हेरिरहेका क्रिकेट संघ पोखरा महानगर समितिका संयोजक बिरेन पुनले जानकारी दिए । उनका अनुसार सेमीफाइनलमा समूह ए र सी तथ समूह बी र डी बीच फाइनल प्रवेशका लागि प्रतिष्पर्धा हुनेछ।
लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताको समूह ‘ए’ मा कुमुदिनी होम्स, छोरेपाटन मावि र टप्स मावि, समूह ‘बी’ मा जनप्रिय मावि, गुरुकुल विद्यासदन र मदरल्याण्ड मावि, समूह ‘सी’ मा आयोजक प्रतिभा माविसहित नेपाल भारत मैत्री विद्यालय र वाराही मावि मालेपाटन तथा समूह ‘डी’ मा ग्लोबल कलेजियट स्कुल, डायमण्ड मावि र बालमन्दिर मावि रहेका छन् ।
प्रतियोगिता क्रिकेटको विकास, खेलाडीको प्रतिभा उजागर गर्न तथा क्रिकेटको जग बलियो बनाउन कोशेढुंगा सावित हुने विद्यालयको अपेक्षा छ । त्यस्तै उत्कृष्ट खेलाडीले अन्डर–१९ कास्की क्रिकेट टिममा पनि अवसर पाउने बताइएको छ ।
प्रतियोगिताको बिजेता विद्यालयले नगद ३० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र, उपबिजेताले नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने जनाइएको छ । प्रतियोगिताको बेष्ट ब्याट्सम्यान, बेष्ट बलर, बेष्ट प्लेयर अफ द सिरिज तथा प्लेयर अफ द म्याचलाई पनि ट्रफी प्रदान गरिने प्राचार्य सापकोटाले जानकारी दिए ।





