पोखरा । बिटि कप फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार पहिलो चरणका आठ खेल सम्पन्न भएका छन्। दिनभर भएका खेलमा ठमेल एफसी र डेभिजफल्स क्लबले फराकिलो जित निकाल्दा दुई टोली वाकओभरमार्फत अघि बढेका छन्।
दिनको पहिलो खेलमा मार्सल ह्वाइटले बेलिज एफसीलाई २–० गोलले हरायो। ह्वाइटका लागि नवीन पुन मगर र आकाश पुर्जामगरले गोल गरे।
दोस्रो खेलमा ठमेल एफसीले गलेश्वर एफसीमाथि ५–० को सहज जित दर्ता गर्यो। ठमेलका लागि मनिष मगर, कुन्सान श्रेष्ठ, मिग्मार तामाङ, श्री माम्बा र विकेश शामहीले गोल गरे।
गोल्डेन नाइट खेलमा उपस्थित नहुँदा नवश्री वाकओभरमार्फत विजयी बन्यो।यस्तै, बाँनिया ब्रदर्सले युनाइटेड ब्लुलाई ३–० ले पराजित गर्यो। सुशान्त थापा, बादल रानाभाट र अनुप बञ्जराको गोलमा बाँनिया ब्रदर्स सहज विजयी बन्यो।

डेभिजफल्स क्लबले पनि प्रभावशाली प्रदर्शन गर्दै रेवल्स एफसीलाई ४–० ले हरायो। डेभिजफल्सका लागि रविन्द्र केसीले दोहोरो गोल गर्दा संगम गुरुङ र सञ्जु मगरले एक–एक गोल थपे।
एनए एफसीले माइलस्टोन स्कुकरलाई १–० को न्यून गोल अन्तरले पराजित गर्यो। सन्तोष चौधरीको एकमात्र गोलमा एनए विजयी बन्यो।
दिप युनाइटेडले लेकसाइड एफसीलाई २–० ले हरायो। लोकेन छन्त्याल र शोभित भण्डारीको गोलमा दिप दोस्रो चरणमा प्रवेश गर्यो।दिनको अन्तिम खेलमा कस्केरी खेलमा उपस्थित नहुँदा एट टु नाइन एफसी वाकओभरमार्फत विजयी भयो।
क्लबका निवर्तमान अध्यक्ष असिम थापाले शनिबार पनि पहिलो चरणका बाँकी खेल सञ्चालन हुने जानकारी दिए। उनका अनुसार विजेता टोलीले २ लाख २२ हजार २२२ रुपैयाँ र उपविजेताले १ लाख ११ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई स्पोर्ट्स साइकल प्रदान गरिनेछ भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई ८–८ हजार रुपैयाँ पुरस्कार दिइनेछ। अनुशासित टोलीलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।





