सुचना१
newa srijana

२५औँ आहा रारा गोल्डकपमा इन्जुरी समयको गोलसँगै सहाराको विजयी सुरुवात

पोखरा । २५औँ आहा रारा गोल्डकपमा आयोजक सहारा क्लबले विजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा मंगलबारदेखि सुरु भएको प्रतियोगितामा पहिलो खेलमा हङकङको गोर्खा इन्टरनेशनल फुटबल क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै सहाराले क्वाटरफाइनलमा स्थान बनाएको हो ।

इन्जुरी समयको तेस्रो मिनेटमा प्रशन्न श्रेष्ठले करिब २० यार्ड टाढाबाट प्रहार गरेको बलले जाली चुम्दा सहाराको जित सुनिश्चित भयो । उनी खेलको उत्कृष्ट खेलाडी पनि बने । अन्तिम क्षण सम्हालिन नसक्दा प्रतियोगितामा पहिलो पटक सहभागी भएको हङकङ क्लब पराजित भयो ।

पोखरामा पहिलोपटक अस्थायी फ्लडलाइटमा खेल भए पनि दर्शकको उत्साह भने कम रह्यो ।

बुधबार जावलाखेल युथ क्लब र मछिन्द्र फुटबल क्लबबीच खेल हुने प्रतियोगिताका संयोजक पूर्णबहादुर गुरुङले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन समारोहमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य मुख्य अतिथि थिए । उनले पोखरासँग भगिनी सम्बन्ध भएका शहरबीच फुटबल प्रतियोगिता गर्ने योजना रहेको बताए ।

सिटीजन फनिच्रर

आयोजनाको २५औँ वर्षको अवसरमा सहारा क्लबले २५ व्यक्ति तथा संघसंस्थालाई सम्मान गर्‍यो । यसवर्षकी उत्कृष्ट खेलाडीमा छानिएकी नेपाली महिला टोलीकी प्रीति राईलाई पनि सम्मान गरियो।

हिमश्री फुड्सको उत्पादन आहा रारा चाउचाउको मुख्य प्रायोजनमा फागुन ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा तीन विदेशीसहित १२ टोलीको सहभागिता रहेको सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले बताए ।

प्रतियोगिताको विजेताले १४ लाख १ हजार रुपैयाँसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले ७ लाख १ हजार रुपैयाँसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

यस वर्षको उत्कृष्ट खेलाडीले टेल्जी इलेक्ट्रिक स्कुटर प्राप्त गर्नेछन् । यसैगरी अनुशासित टोली, उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी, प्रत्येक खेलको म्यान अफ द म्याच र भाग्यशाली दर्शकलाई समेत आकर्षक पुरस्कार प्रदान गरिने छ ।

Tiger cup
वडा नं २६