पोखरा । पोखरा महानगरपालिकाको आयोजनामा सर्वदलीय, सर्वपक्षीय बैठक सम्पन्न भएको छ । फोहोर व्यवस्थापन सम्बन्धमा आयोजित बैठकमा नगर प्रमुख धनराज आचार्यले महानगरपालिका फोहोरको दीर्घकालीन र अल्पकालीन व्यवस्थापनका लागि निरन्तर लागिरहेको बताउनुभएको छ ।
पछिल्लो समय विभिन्न अवरोधका कारण उठ्न नसकेको फोहोर तत्कालका लागि अल्पकालीन व्यवस्थापन गर्न लागिएको नगर प्रमुख आचार्यले बताउनुभयो ।
पछिल्लो समय फोहोर व्यवस्थापन भइरहेको लामेआहाल ल्याण्डफिल साइड भरिएपछि फोहोर व्यवस्थापनका लागि दर्जनौँ सम्भावित स्थानहरूको खोजी गरिए पनि विभिन्न कारणले टुङ्गोमा पुग्न नसकेको उहाँले बताउनुभयो ।
महानगरपालिकाले फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थान खोजिरहेको उल्लेख गर्दै उहाँले शनिवारसम्ममा बजार क्षेत्रको सबै फोहोरको व्यवस्थापन गरिने बताउनुभयो । साथै महानगरलाई फोहोर व्यवस्थापनमा भइरहेको स्थानीय अवरोधको समन्वयका लागि राजनीतिक दल, नागरिक समाज, स्थानीय प्रशासन लगायत सरोकारवालाहरूलाई उहाँले आग्रह समेत गर्नुभयो ।

बैठकमा गण्डकी प्रदेश सरकारका मुख्यसचिव डण्डुराज घिमिरेले पर्यटन राजधानी पोखरामा देखिएको फोहोर व्यवस्थापनका सन्दर्भमा राज्य र नागरिक दुवै पक्षले आआफ्नो दायित्व बोध गर्नुपर्ने बताउनुभयो । राज्यलाई सहयोग गर्दै नागरिकहरूले समेत आफ्नो कर्तव्यको बोध गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । प्रमुख दायित्व महानगरपालिकाको भए पनि प्रदेश सरकार आवश्यक सहयोगका लागि तयार रहेको उहाँले बताउनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले गैर कानुनी कार्य गर्ने र त्यस्तो कार्यलाई प्रश्रय दिने कार्य दण्डनीय हुने भएकाले स्थानीय प्रशासन कानुन कार्यान्वयनमा सचेत रहेको बताउनुभयो । नागरिकले आफ्ना अधिकार खोज्दै गर्दा कर्तव्यको समेत पालना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । जथाभाबी फोहोर फ्याँक्ने कार्य जो कोहीका लागि दण्डनीय हुने भएकाले कानुनको पालनामा इमानदार बन्न उहाँले सचेत गराउनुभयो ।
बैठकमा नेपाली काँग्रेसका सचिव नवीन सिग्देल, नेकपा एमालेका उपाध्यक्ष भेषराज बराल, नेपाली कम्युनिस्ट पार्टी कास्कीका संयोजक विश्वप्रकाश लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा ९विप्लव०, श्रम संस्कृति पार्टी लगायत पार्टीका प्रतिनिधिहरूले आफूहरू महानगरपालिकाको साथमा रहेको बताएका छन् । फोहोर व्यवस्थापनका सन्दर्भमा महानगरपालिकालाई आवश्यक सहयोग गर्न आफूहरू प्रतिबद्ध रहेको उनीहरूले प्रतिबद्धता समेत जाहेर गरेका छन् ।
नागरिक समाजका अगुवा एवं वातावरण संरक्षण महाअभियानका संयोजक रामबहादुर पौडेलले फोहोर व्यवस्थापन, सरसफाइ र वातावरण संरक्षण सम्बन्धी महानगरपालिकाका हरेक अभियानहरूमा नागरिक समाज साथमा रहेको बताउनुभयो । कार्यक्रममा सहभागीहरूले फोहोर व्यवस्थापनका लागि आआफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
प्रमुख आचार्यको अध्यक्षतामा सम्पन्न बैठकमा स्वागत उपप्रमुख मन्जुदेवी गुरुङ र सञ्चालन प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले गर्नुभएको थियो ।





