पोखरा । धादिङका विष्णुलाल श्रेष्ठले पोखरामा आइतबार सम्पन्न तेस्रो ६० प्लस तथा प्रथम ६५ प्लस राष्ट्रिय खुल्ला मेन्स डबल ब्याडमिन्टन प्रतियोगितामा दोहोरो उपाधि जित्न सफल हुनु भएको छ । ६० प्लस र ६५ प्लस दुवै विधामा विजेता बन्दै उहाँले दुबै तर्फ प्रथम हुनु भएको हो ।
६० प्लस विधातर्फ श्रेष्ठले ललितपुरका दिलबहादुर कन्दङबासँग जोडी बाँध्दै फाइनलमा पोखराका दिलबहादुर पुन र कृष्णबहादुर गुरुङको जोडीलाई पराजित गर्दै उपाधि जित्नु भएको हो । उक्त विधामा पोखराका रमन श्रेष्ठ र नवीन केसी तथा काठमाडौंका पूर्णचन्द्र जोशी र पोखराका प्रेमप्रसाद गुरुङको जोडी तेस्रो हुनुभयो ।
त्यसैगरी ६५ वर्षमाथि उमेर समूहमा धादिङकै विष्णुलाल श्रेष्ठले पोखराका कृष्ण गुरुङसँग सहकार्य गर्दै भोजपुरका दानबहादुर तामाङ र पोखराका रमेश भट्टचनको जोडीलाई फाइनलमा हराउँदै दोस्रो उपाधि आफ्नो पोल्टामा पार्न सफल हुनु भएको हो । यस समूहमा पोखराका खेम राना र रामजी बास्तोला तथा इन्द्र गौचन र दूतप्रसाद गुरुङको जोडी संयुक्त रूपमा तेस्रो हुनु भएको हो ।
प्रतियोगितामा विजेताले नगद ३० हजार, उपविजेताले २० हजार तथा तेस्रो हुने दुई टोलीले जनही १०–१० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो ।

पुरस्कार वितरण कार्यक्रममा कास्की जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष शुसिलकुमार श्रेष्ठ, कुमुदिनी होम्स माविका अध्यक्ष अशोक पालिखे, काठमाडौंस्थित ग्यालेक्सी स्कुलका सञ्चालक मथुरा राना, समाजसेवी तथा खेलकुदकर्मी मेजर लक्ष्मीप्रसाद गुरुङ, अधिवक्ता कृष्ण थापा, समाजसेवी दुर्गाबहादुर शाह, खेलकुदकर्मी रमेश भट्टचन, कार्यक्रम संयोजक चीजकाजी गुरुङ, संस्थाका अध्यक्ष माधव पहारी, कोषाध्यक्ष विष्णुप्रसाद श्रेष्ठ र सचिव दुर्गाबहादुर गुरुङ लगायतले पुरस्कार वितरण गर्नु भएको थियो ।
पोखरा स्पोट्र्स एण्ड ब्याडमिन्टन क्लबको सभाहलमा आयोजित प्रतियोगितामा डोटी, धनगढी, भोजपुर, चितवन, काठमाडौं, बाग्लुङ, धादिङ, रूपन्देही, कास्की र ललितपुरलगायत क्षेत्रबाट खेलाडीको सहभागिता रहेको थियो। ६० प्लसतर्फ १५ टिम र ६५ प्लसतर्फ १४ टिम सहभागी भएको सचिव दुर्गाबहादुर गुरुङले जानकारी दिनुभयो।
६० वर्ष प्लस तन्नेरी ब्याडमिन्टन क्लब नेपालको आयोजनामा शनिबारदेखि सुरु भएको प्रतियोगिता संस्थाका अध्यक्ष माधव पहारीको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा कास्की जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष शुसिलकुमार श्रेष्ठले संघले आगामी दिनमा ६० वर्षमाथि उमेर समूहका लागि थप प्रतियोगिता आयोजना गर्ने घोषणा गर्नुभयो ।
जेष्ठ नागरिकलाई शारीरिक रूपमा तन्दुरुस्त राख्ने उद्देश्यसहित ब्याडमिन्टनका पूर्व राष्ट्रिय खेलाडी एवं राखेपका पूर्व सदस्य जयराम हमालको परिकल्पनामा संस्था स्थापना गरिएको हो। संस्थापक अध्यक्ष रुद्रघलेको नेतृत्वमा करिब २० जनाबाट सुरु भएको संस्था हाल ६० सदस्यसम्म पुगेको छ । संस्थाले गरिब तथा विपन्न वर्गका साथै १३ वर्षमुनिका खेलाडीहरूको ब्याडमिन्टन विकासका लागि सहयोग गर्ने योजना समेत अघि सारेको जनाएको छ ।





