पोखरा । मनाङ मस्र्याङदी २५औं आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको क्वाटरफाइनल खेलमा भारत सिक्किमको थनडरबोल्ड नर्थ युनाइटेडलाई १–० मा पराजित गर्दै मनाङ मस्र्याङदीले सेमिफाइनलमा प्रवेश गरेको हो ।

मनाङ मस्र्याङदीको जितमा आशिष श्रेष्ठले निर्णायक गोल गरे । नियमित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको पहिलो हाफको अन्तिम समयमा आशिषले गोल गर्दै टोलीलाई जित दिलाए । मनाङ मस्र्याङदीले अब फाइनल प्रवेशका लागि आयोजक सहारा क्लब पोखरासँग प्रतिष्पर्धा गर्नेछ ।
सेमिफाइन पुगेको जाउलाखेल युथ क्लबले फाइनल प्रवेशका लागि प्लानिङ ब्वाइज युनाइटेढ र उज्वेकिस्तानको आभा एफसीको विजेतासँग प्रतिष्पर्धा गर्नेछ । सहारा क्लबको आयोजनामा माघ २७ गतेबाट सुरु भएको गोल्डकपमा १२ टोलीले सहभागिता जनाएका छन् । गोल्डकपको विजेताले १४ लाख र उपविजेताले ७ लाख १ हजार रुपैयाँ पाउनेछन् । फाइनल खेल फागुन ९ गते हुनेछ ।




