पोखरा । पोखरा रंगशालामा शनिबार आयोजक सहारा र जावलाखेलबीच उपाधिका लागि रोचक प्रतिस्पर्धा हुनेछ । दुवै टोली लामो समयपछि फाइनल पुगेका कारण जितको दृढ संकल्पमा छन् ।
पोखरा रंगशालामा शनिबार हुने २५औं आहा रारा पोखरा गोल्डकप फुटबलको उपाधि प्रतिस्पर्धा रोचक बन्ने भएको छ । आयोजक सहारा क्लब पोखरा ९ वर्ष र जावलाखेल युथ क्लब १४ वर्षपछि फाइनल पुगेका हुन् । सहारा क्लबको आयोजनामा गत २७ माघदेखि सुरु भएको यो ऐतिहासिक रजत संस्करणमा १२ टोली सहभागी थिए । सर्वाधिक विजेता तथा दाबेदार टोलीहरू पाखा लागिसकेका छन् ।
शुक्रबार आयोजित प्रि–म्याच कन्फरेन्समा सहारा र जावलाखेलका प्रशिक्षक तथा कप्तानहरूले उपाधि आफ्नो टोलीले जित्ने दाबी गरे । सहाराका प्रशिक्षक सुनिल रानामगर १२औं संस्करणमा म्यानेजर हुँदा मनाङ मस्र्याङ्दीलाई १–० ले हराएर पहिलो उपाधि जितेका थिए । १२ वर्षपछि उपाधि फर्काउने तयारीमा छौं सबैको मनोबल उच्च छ र फाइनलमा स्कोर निकाल्ने एकमात्र लक्ष्य छ रानामगरले बताए ।

जावलाखेलका प्रशिक्षक सुनिलकुमार श्रेष्ठले होम टाउनको दर्शक प्रेसरका बाबजुद सेटअप गर्ने बताए । सहारा बलियो टोली हो राम्रा टोलीहरूलाई हराएर फाइनल पुगेको छ उनले भने । सहाराका कप्तेन सुशील लामा र जावलाखेलका कप्तेन तथा कीपर उनेश चौधरीले शनिबार उत्कृष्ट प्रतिस्पर्धा दिने प्रतिबद्धता जनाए । सुशील सहारा एकेडेमीका दोस्रो ब्याचका उत्पादन हुन् ।
सहाराले उद्घाटन खेलमा गोर्खा इन्टरनेशनललाई हराएर यात्रा सुरु गरेको थियो । क्वार्टरफाइनलमा ६ पटकका विजेता पुलिस क्लब र सेमिफाइनलमा मनाङ मस्र्याङ्दीलाई सडन डेथमा पराजित गर्दै फाइनल पुगेको छ । जावलाखेलले पहिलो खेलमा मच्छिन्द्रलाई हराएपछि प्रि–क्वार्टरफाइनलमा चर्च ब्वाइज युनाइटेड र सेमिफाइनलमा उज्बेकिस्तानको आभा फुटबल क्लबलाई १–० ले पराजित गरेको हो ।
विजेताले १४ लाख र उपविजेताले ७ लाख रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।






