newa srijana

भदौ २३ सम्झेर परिवर्तनका लागि मत गर्न रास्वपा उम्मेदवार पौडेलको आग्रह

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले आसन्न प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा भदौ २३ गतेको घटनालाई स्मरण गर्न मतदातासँग आग्रह गरेका छन्। उनले उक्त दिनलाई लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता र सुशासनका लागि लड्ने नागरिकको भावनासँग जोडिएको दिनका रूपमा उल्लेख गरे।

चुनावी घरदैलो तथा भेटघाट कार्यक्रम अन्र्तगत विहिबार मादी गाउँपालिकाको सिक्लेसमा बोल्दै पौडेलले भने, “भदौ २३ सम्झनुहोस्। ती कलिला विद्यार्थी बालबालिकाहरू गोली खाएर ढलेका दृश्यले के तपाईंको मन रुवाउँदैन? अभिव्यक्ति स्वतन्त्रता र सुशासनका पक्षमा सडकमा आएका ती बच्चाहरू हाम्रै छोराछोरी हुन्।” उनले मतदातालाई आफ्ना सन्तानको भविष्य सम्झेर निर्णय गर्न आग्रह गरे।

World link net

पौडेलले परिवर्तनका लागि मत निर्णायक हुने बताउँदै भने, “भदौ २३ सम्झनुहोस् अनि आफ्ना छोराछोरी सम्झनुहोस्। परिवर्तनका लागि घण्टीमा मतदान गर्नुहोस्।” उनले मतदातालाई विवेकपूर्ण निर्णय गर्न आग्रह गर्दै लोकतान्त्रिक अधिकारको सही प्रयोग गर्नुपर्ने धारणा व्यक्त गरे।

अर्को प्रसंगमा उनले भ्रष्टाचारविरुद्ध कडा अडान दोहो¥याए। “भ्रष्टाचार गरेर कमाएका अकुत सम्पत्ति, नेताहरूका गुप्त कोठाभरि जलेका पैसाको स्रोत र तिनको हिसाब–किताब सार्वजनिक गर्न जनताले मत परिवर्तन गर्नुपर्ने बेला आएको छ,” उनले भने। विगतका अनियमितता र आर्थिक अपारदर्शिताको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्नेमा उनले जोड दिए।

पौडेलले सुशासन, पारदर्शिता र नागरिक अधिकारको सुनिश्चितता आफ्नो प्रमुख एजेन्डा रहेको उल्लेख गर्दै मतदातालाई परिवर्तनको पक्षमा उभिन अपिल गरेका छन्।

सिटीजन फनिच्रर