पोखरा । नेकपा (एमाले) कास्की क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार दामोदर पौडेल वैरागीले मतदाता भेटघाटलाई तिव्र बनाएका छन् । उनले शुक्रबार पोखरा महानगरपालिकाका वडा नं.२ र ५ का विभिन्न टोलटोलमा पुगेर मतदातासँग भेटघाट गरेका हुन्् । घरदैलो कार्यक्रमका क्रममा उनले आफू सधैं जनतासँगै रहेको र आगामी दिनमा पनि जनताको सेवामा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे ।
मतदातासँगको भेटमा वैरागीले विगतमा सुरु भएका अधुरा विकास आयोजनाहरूलाई पूर्णता दिने र नयाँ विकास योजना अघि बढाउने वाचा गरेका छन् । ‘म हिजो पनि तपाईँहरूसँगै थिएँ, आज पनि तपाईँहरूसँगै छु र भोलि पनि तपाईँहरूसँगै रहनेछु,’ उनले मतदातामाझ विश्वास दिलाए ।

नेकपा एमाले कास्की निर्वाचन क्षेत्र नम्बर ३ ले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा सुशासन प्रवद्र्धन, पूर्वाधार विकास, पर्यटन विस्तार र आर्थिक समृद्धिलाई मुख्य प्राथमिकताका रूपमा राखिएको छ । पार्टीले मुलुकको स्वाधीनता, सार्वभौमिकता र संविधानको संरक्षण गर्दै जनताको जीवनस्तर उकास्ने लक्ष्यसहित “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय संकल्पलाई कार्यान्वयन गर्ने जनाएको छ ।
एमालेले वैरागीलाई विजयी गराउन आह्वान गर्दै विगतमा सुरु भएका विकास आयोजनाहरूलाई पूर्णता दिने र नयाँ सम्भावनायुक्त परियोजनाहरू अघि बढाउने प्रतिबद्धता दोहो¥याएको छ ।
घरदैलो कार्यक्रमका क्रममा स्थानीय मतदाताले विकास, रोजगारी, पूर्वाधार र पर्यटन विस्तारका विषयमा चासो राखेका थिए भने उम्मेदवार वैरागीले ती सबै विषयलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।






