पोखरा । स्याङ्जा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. धनञ्जय रेग्मीले ऐतिहासिक जित दर्ज गरेका छन्। वर्षौंदेखि नेपाली काँग्रेस र नेकपा एमालेले पालैपालो जित्दै आएको यो क्षेत्रमा पहिलोपटक कुनै तेस्रो शक्तिले बाजी मारेको हो।
अन्तिम मतपरिणाम अनुसार रेग्मीले २९ हजार ७१ मत हात पारे। निकटतम प्रतिस्पर्धी काँग्रेसका भरतराज ढकाल १८ हजार ८ सय ५७ मतमा सीमित हुँदा दुईबीचको मतान्तर १० हजार २ सय १४ पुग्यो। एमालेका मीनप्रसाद गुरुङ १६ हजार ८ सय ४ मत पाउँदै तेस्रो भए भने नेकपाका शैलेन्द्र घिमिरे १ हजार ५ सय ५२ मतसहित चौथो स्थानमा रहे।

यस क्षेत्रमा एक लाख ३० हजार ८८६ मतदाता थिए। तीमध्ये ७० हजार ९ सय ४४ मत खसेकोमा २ हजार ९ सय ८ मत बदर भयो। १२ उम्मेदवार — ११ दल र एक स्वतन्त्र — बीचको प्रतिस्पर्धामा रेग्मी स्पष्ट बहुमतसहित विजयी बने।
पर्यटन क्षेत्रमा क्रियाशील रहेका रेग्मी करिब ६ महिनाअघि मात्रै रास्वपाको सक्रिय राजनीतिमा प्रवेश गरेका थिए।




