newa srijana

पोखरामा २१औं नेपाल खुला अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ च्याम्पियनसिप सुरु

पाइलटको मृत्यु र हवाई सुरक्षाको कारण राष्ट्रिय प्रतियोगिता बन्द भएको चार वर्षपछि सराङकोटको विशेष अनुमतिमा २१औं नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप शुरु भएको छ।

पोखरा । पोखरा साहसिक पर्यटनको गन्तव्यका रूपमा चिनिन्छ र त्यो पहिचानको मुटु प्याराग्लाइडिङ हो। चार वर्षदेखि राष्ट्रिय प्रतियोगिता बन्द रहेको यो क्षेत्रमा बिहीबारदेखि फेरि उडान शुरु भएको छ। नेपाल हवाई खेलकुद संस्थाको आयोजनामा शनिबारसम्म सञ्चालन हुने २१औं नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिपमा नेपालसहित फ्रान्स, जर्मनी, इटाली, चीन र भारतका ६२ खेलाडी सहभागी छन्।

अन्नपूर्ण र माछापुच्छ्रेको फेदमा आकाशबाट पोखरा निहाल्ने अनुभवका लागि आन्तरिक र बाह्य पर्यटक यहाँ आउँछन्। नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबका अध्यक्ष लक्ष्मणबहादुर थापा यो प्रतियोगिताले पोखराको साहसिक पर्यटनलाई देशविदेशमा चिनाउने अवसर बन्ने बताउँछन्। सन् २०१८ मा इन्डोनेसियामा भएको एसियाली खेलकुदमा नेपालको पुरुष टिमले क्रस कन्ट्री विधामा रजत पदक जितेको थियो। एसियाली खेलकुदको इतिहासमा नेपालले हासिल गरेको त्यो एकमात्र पदक हो। ‘यो प्रतियोगिताले साहसिक पर्यटन प्रवर्द्धन गर्दै प्याराग्लाइडिङलाई नयाँ उचाइमा पुर्‍याउन मद्दत गर्छ,’उनले भने।

कुनै समय सराङकोटबाट दैनिक बाह्र सयसम्म उडान हुन्थ्यो। तर २०७९ पुस १७ गतेदेखि नागरिक उड्डयन प्राधिकरणले नयाँ विमानस्थल निर्माणको क्रममा हवाई सुरक्षाको कारण देखाउँदै ट्यान्डम उडानमा प्रतिबन्ध लगायो। त्यही वर्ष असोज ३० गते एक राष्ट्रिय प्रतियोगिताकै क्रममा पाइलट निसम थापाको मृत्यु भएपछि सोलो उडान पनि पूर्णरूपमा बन्द भयो। त्यसयता राष्ट्रिय प्रतियोगिता हुन सकेको थिएन।‌ सोलो उडान पुनः सुरु भएपछि हाल तोरीपानीबाट उडान हुँदैछ। यो प्रतियोगिताका लागि भने सराङकोटबाट तीन दिनको विशेष अनुमति लिइएको हो भने ‘प्राधिकरणको रोक अझै हटेको छैन’।

सिटीजन फनिच्रर

प्रतियोगितामा एक्युरेसी पुरुष, एक्युरेसी महिला र समूहगत गरी तीन इभेन्ट हुनेछन्। पाइलटहरू सराङकोटबाट उडान भरी फेवातालको खपौँदीमा अवतरण गर्छन्। अवतरण उपकरणको सबैभन्दा नजिक ओर्लिनेलाई कम अंक दिइन्छ र ६ राउन्डको अन्त्यमा सबैभन्दा कम अंक हासिल गर्नेले विजेता हुन्छ।

डेढ महिनाअघिनै १५ देशका ९० भन्दा बढी खेलाडीले नाम दर्ता गराएका थिए तर पश्चिम एसियामा युद्ध चर्किएसँगै धेरै उडान रद्द भएपछि ती देशका खेलाडी आउन सकेनन्। संयोजक सुनिलबहादुर भट्टराई भन्छन्, ‘धेरै उडान रद्द हुँदा सुरक्षाको कारण देखाउँदै खेलाडी आउन चाहेनन् यद्यपि ६२ पाइलटको सहभागिता पनि उत्साहजनक नै हो।’

व्यक्तिगत विधाका विजेतालाई डेढ लाख, उपविजेतालाई एक लाख र तेस्रोलाई ५० हजार रुपैयाँ पुरस्कार दिइनेछ। समूहगत विधामा क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँ राखिएको छ। करिब ३० लाख रुपैयाँ खर्च हुने यो प्रतियोगिताबाट गण्डकी प्रदेशस्तरीय खेलाडी पनि छनोट हुनेछन्।

अनिल multipurpose