पोखरा । नवलपुरको गैंडाकोट–९ हनुमान मन्दिरस्थित पूर्व–पश्चिम राजमार्गमा बस, ट्रक र हात्तीगाडी एकआपसमा ठोक्किँदा चालकसहित १० भन्दा बढी व्यक्ति घाइते भएका छन्।दुर्घटनामा परी ३ जना गम्भीर घाइते भएका छन् ।
आज बिहान नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले गैंडाकोटबाट भेडाबारीतर्फ जाँदै गरेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी र सोही दिशातर्फ गइरहेको बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनापछि प्रहरी टोली घटनास्थलमा खटिएको छ भने घाइतेहरूलाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको छ। दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवी गाउँपालिका–४ निवासी ३२ वर्षीय इन्द्र तामाङको दुबै खुट्टामा चोट लागेको छ।
त्यस्तै, हात्तीगाडी चालक चितवन भरतपुर महानगरपालिका–१२ निवासी ३३ वर्षीय दर्शन काप्रीको छातीमा भित्री चोट लागेको छ। बस चालक बाँके नेपालगञ्ज उपमहानगरपालिका–२० निवासी ४१ वर्षीय मोहनसिंह बलामी मगरको दुबै खुट्टामा सामान्य चोट लागेको छ । ३ जना चालकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
बसमा सवार अन्य ९ जना यात्रुहरू पनि सामान्य घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि अस्पतालतर्फ पठाइएको र थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।




