पोखरा । पोखरास्थित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको एमबिएस तेस्रो सेमेस्टरका विद्यार्थीहरूको सक्रियतामा आइतबार एक विशेष समारोहबीच बिदाइ तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ ।
क्याम्पसको आफ्नै सभाहलमा आयोजित उक्त कार्यक्रममा एमबिएस चौथो सेमेस्टरका विद्यार्थीहरूलाई बिदाइ गरिएको छ भने नवआगन्तुक प्रथम सेमेस्टरका विद्यार्थीहरूलाई भव्य स्वागत गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम सुवेदीले उच्च शिक्षाको क्षेत्रमा गुप्तेश्वर महादेव क्याम्पसले आफ्नो छुट्टै पहिचान बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो लक्ष्य केवल किताबी ज्ञान दिने मात्र नभई बजारमा प्रतिस्पर्धा गर्न सक्ने कुशल व्यवस्थापक र नैतिकवान नागरिक उत्पादन गर्नु हो ।” उहाँले बिदाइ भएर जाने विद्यार्थीहरूलाई कार्यक्षेत्रमा सफलताको शुभकामना दिँदै नयाँ विद्यार्थीहरूलाई क्याम्पसको गरिमा कायम राख्न आग्रह गर्नुभयो ।
समारोहमा क्याम्पस प्रमुख धर्मराज बरालले एमबिएस तहको अध्ययन अनुसन्धानमा आधारित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यार्थीहरूलाई सिर्जनशील हुन र क्याम्पसले उपलब्ध गराएका स्रोतसाधनको अधिकतम प्रयोग गर्न सुझाव दिनुभयो ।
त्यसैगरी, प्राध्यापक संघका अध्यक्ष लेखनाथ बरालले शैक्षिक गुणस्तर सुधारमा प्राध्यापक र विद्यार्थीको समन्वय आवश्यक रहेको औंल्याउनुभयो ।

आइक्युएसी प्रमुख एवं एमबिएस कोअर्डिनेटर राजकुमार सुवेदीले क्याम्पसले गुणस्तर सुनिश्चितताका लागि चालेका कदमहरूबारे प्रकाश पार्नुभएको थियो ।
त्यस्तै सृजनशील विद्यार्थी मञ्चकी सचिव स्मृति थापाले विद्यार्थीहरू बीचको भ्रातृत्व र रचनात्मक कार्यले नै क्याम्पसको वातावरण जीवन्त रहने धारणा राख्नुभयो ।
बिदाइ भई जान लागेका चौथो सेमेस्टरका विद्यार्थी सफल देवकोटाले आफ्नो दुई वर्षे शैक्षिक यात्राको अनुभव सुनाउँदै क्याम्पसले प्रदान गरेको ज्ञान र मार्गदर्शन जीवनभरका लागि प्रेरणाको स्रोत बन्ने बताउनुभयो ।
नवआगन्तुक प्रथम सेमेस्टरका विद्यार्थीहरूले क्याम्पसको स्वागतले आफूहरूलाई थप उत्साहित बनाएको र शैक्षिक लक्ष्य प्राप्तिका लागि प्रतिबद्ध रहने बताएका थिए ।
बिदाई हुने विद्यार्थीहरूलाई सम्मान स्वरुप मायाको चिनो प्रदान गरिएको सो कार्यक्रममा विभिन्न विभागका विभागीय प्रमुख, प्राध्यापक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।




