newa srijana

एकै थलोमा जनआन्दोलन, भूकम्प र जेनजी आन्दोलनको फोटो

पोखरा । राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८३ का अवसरमा नेपाल फोटो पत्रकार संघ, कास्कीले जनआन्दोलन, भूकम्प र जेनजी आन्दोलनको फोटो प्रदर्शन गरेको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ३ को सहयोगमा संघले आइतबार पोखरा–३ नदिपुरस्थित कोर्टयार्डको प्रांगणमा फोटोमा ‘६२, ७२ र ८२’ फोटो प्रदर्शनी गरेको हो । नेपालमा पछिल्लो ३ दशक यता हरेक १०÷१० वर्षमा ठूला घटनालाई फोटोका माध्यमबाट प्रदर्शन गरिएको आयोजकले जनाएको छ । प्रदर्शनीमा २०६२÷०६३ को जनआन्दोल, २०७२ को भूकम्प र २०८२ मा भएको जेनजी आन्दोलनको फोटो राखिएको थियो ।

प्रदर्शनीको पोखरा ३ का वडाध्यक्ष प्रकाशमान उदासले उद्घाटन गरेका थिए । कार्यक्रममा उनले तस्बिर हेर्ने मात्र नभएर अनुभव गर्ने खालको हुनुपर्ने बताए । ‘फोटो केवल फ्रेम वा क्यानभासमा सजाउने चिज मात्र नभएर यो एउटा कला पनि हो । फोटो पत्रकारको एक क्लिकले इतिहास पनि बताउँछ,’ उनले भने, ‘तस्बिरहरुले समाजलाई जानकारी मात्र हैन् । महसुस पनि गराउँछ । तस्बिर हेर्दै गर्दा सपना पनि बुनिन्छ ।’ फोटो पत्रकारहरुको सिर्जनात्मक काममा वडाको सधैं साथ र सहयोग रहने उनले बताए ।

पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले अक्षर पढेर भन्दा पनि तस्बिर हेरेर धेरै विषय बुझ्न सकिने बताए । ‘फोटो पत्रकारहरुले जे देख्छ त्यही क्लिक गर्छ । कुनै बनावटी कुरा पनि हुदैंन्,’ उनले भने, ‘यस्तो खालको जनचेतनामूलक प्रदर्शनी अरु ठाउँमा पनि हुनुपर्छ ।’ फोटो पत्रकारको कार्यक्रममा सहकार्य गर्दै जाने उनले प्रतिवद्धता जनाए ।

World link net

कार्यक्रममा नेपाल पत्रकार महासंघ, कास्की अध्यक्ष माधव बराल, नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष गंगाधर पराजुलीलगायतले समाचारलाई थप विश्वसनीय बनाउन फोटो महत्वपूर्ण भूमिका हुने भएकाले फोटो पत्रकारहरु मेहनती, संघर्षशील र सिर्जनशील हुनुपर्ने बताएका थिए ।

फोटो पत्रकारिता दिवसका अवसरमा फोटो मार्फत जनआन्दोलन, भूकम्प र जेनजी आन्दोलनका बारेमा जानकारी दिने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको कार्यक्रम संयोजक संस्थाकी सहसचिव दुर्गा रानामगरले जानकारी दिइन् । ‘हामी फोटो पत्रकारहरुका लागि वैशाख १३ अर्थात फोटो पत्रकारिता दिवस अति नै महत्वपूर्ण छ । हामीले हरेक वर्ष विभिन्न कार्यक्रम गरी दिवस मनाउँदै आएका छौं,’ उनले भनीन्, ‘यो वर्ष पनि दिवसलाई ऐतिहासिक बनाउनका लागि ‘फोटोमा ६२,७२ र ८२’ शीर्षकको फोटो प्रदर्शनी गरेका हौं ।’

वि.सं १९८४ वैशाख १३ गते गोरखापत्रमा प्रथमपटक फोटो समाचार छापिएको थियो । विरगञ्जकी एक महिलाले चर्खाबाट धागो कात्दै गरेको फोटो गोरखापत्रमा प्रकासित भएको दिनको सम्झनामा नेपालका फोटो पत्रकारहरुले उक्त दिनलाई राष्ट्रिय फोटो पत्रकारिता दिवसको रुपमा मनाउँदै आएका छन् ।

बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म फोटो प्रदर्शन गरिएको संस्थाका अध्यक्ष राम गुरुङले जानकारी दिए । प्रदर्शनीमा कास्कीका फोटो पत्रकारहरुले कैद गरेका १ सय वटा फोटो राखिएको थियो । प्रदर्शनीमार्फत नयाँ पुस्तालाई देशले पार गरेका संघर्ष र परिवर्तनका बारेमा जानकारी दिने प्रयास गरिएको उनले सुनाए । साथै, विभिन्न समयमा भएका घटना एउटै थलोमा हेर्न पाउनुलाई संस्थाले इतिहासको जीवन्त दस्तावेज रुपमा लिएको छ ।

आगामी वर्ष पनि फोटो पत्रकारिता दिवस भव्य बनाउने क्रममा रचनात्मक कार्यक्रम गर्दै जाने अध्यक्ष गुरुङले सुनाए ।

 

सिटीजन फनिच्रर