पोखरा । नवप्रवर्तनकारी सोच भएका युवाहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले पोखरा जेसीजले आगामी बैशाख १८ देखि २० गतेसम्म जेसीज सप्ताहन्त २०२६ आयोजना गर्ने भएको छ।
सन् १९७५ मा स्थापना भएको पोखरा जेसीजले आज पोखरामा पत्रकार सम्मेलन आयोजना गर्दै ‘परिष्कृत युवा, सशक्त नेतृत्व’ भन्ने मूल नाराका साथ यही बैशाख १८ गतेदेखि २० गतेसम्म विभिन्न कार्यक्रम गर्ने जनाएको छ। जेसीजले यही बैशाख १८ गते कार्यक्रमको उद्घाटनसहित वित्तीय साक्षरता कार्यक्रम गर्ने जनाएको छ।
सो कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ५ सँगको सहकार्यमा युवाहरूका लागि वित्तीय साक्षरता सहित उद्यमशीलता विकास तालिम सञ्चालन गरिने संयोजक एवं उपाध्यक्ष ई. रविन्द्र गोदारले जानकारी दिए।

दोस्रो दिन बैशाख १९ गते कास्कीको मादी गाउँपालिका वडा नम्बर ९ मिजुरेमा वृहत निःशुल्क आँखा शिविर आयोजना हुनेछ। हिमालय आँखा अस्पतालको सहयोगमा स्थानीय समुदायलाई लक्षित गरी सो कार्यक्रम गर्न लागिएको बताइएको छ। सप्ताहन्तको अन्तिम दिन बैशाख २० गते वृहत रक्तदान कार्यक्रम र बिजनेस आइडियासम्बन्धी कार्यक्रम गरिने संयोजक गोदारले बताए।
नवप्रवर्तनकारी सोच भएका युवाहरूलाई प्रोत्साहन गर्न यो कार्यक्रम आयोजना गरिएको अध्यक्ष जेसी सुमन पहारीले बताए। विगत पाँच दशकदेखि युवाहरूको नेतृत्व र व्यक्तित्व विकासमा पोखरा जेसीजले निरन्तर काम गर्दै आएको उनले थपे।
प्रचार प्रसार समितिका संयोजक संजय थापाले युवालक्षित कार्यक्रमले समाजमा सचेतना वृद्धि गराउन सहयोग पुग्ने बताए। यस्ता विशेष कार्यक्रम जेसीजले वार्षिक क्यालेण्डरमै समावेश गरेको उनले जानकारी दिए। पोखरा जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी सुमन पहारीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको सञ्चालन महासचिव जेसी संजय पौडेलले गरेका थिए।




