पोखरा । कास्कीको मादी गाउँपालिका–१ ले सञ्चालन गर्दै आएको घुम्ती सेवा प्रभावकारी बन्दै गएको छ । भौगोलिक विकटताका कारण सेवा लिन कठिनाइ भोग्दै आएका स्थानीयलाई लक्षित गर्दै वडा कार्यालयले गाउँमै पुगेर सेवा दिन थालेपछि नागरिक लाभान्वित भएका हुन् ।
वडा अध्यक्ष देवीजंग गुरुङ का अनुसार नागरिकले सहज र प्रभावकारी रूपमा सेवा पाउन सकून् भन्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गरिएको हो । वडाले प्रत्येक दुई महिनामा पोखरा र खिलाङ क्षेत्रमा घुम्ती सेवा सञ्चालन गर्दै आएको छ ।
“सामान्य सिफारिसकै लागि टाढासम्म धाउन नपरोस् भन्ने उद्देश्यले घुम्ती सेवा सुरु गरेका हौं,” अध्यक्ष गुरुङले भने, “यसबाट सेवाग्राहीको समय र खर्च दुवै बचत भएको छ ।”

वडाले सामाजिक सुरक्षा भत्ता पनि बैंकसँगको समन्वयमा गाउँमै पुगेर वितरण गर्ने व्यवस्था मिलाएको जनाएको छ । हाल वडाका ६ सय ५० भन्दा बढी नागरिकले सामाजिक सुरक्षा भत्ता लिइरहेका छन् । ज्येष्ठ नागरिकलाई लक्षित गर्दै सिक्लेस स्वास्थ्य चौकीसँग सहकार्य गरी नियमित स्वास्थ्य परीक्षण तथा भेटघाट कार्यक्रम सञ्चालन भइरहेको वडाले जनाएको छ ।
बालबालिकाको स्वास्थ्य र पोषण प्रवर्द्धनका लागि ‘स्वस्थ बच्चा प्रतियोगिता’ सञ्चालन गरिएको छ भने कक्षा ११ र १२ मा अध्ययनरत दलित विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति उपलब्ध गराइएको अध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार आर्थिक अभावकै कारण कसैले पढाइ नछोड्नुपरोस् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । हाल ३० जनाभन्दा बढी विद्यार्थीले सुविधा लिइरहेका छन् ।
वडाले सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउन गुगल ड्राइभमार्फत मोबाइलबाटै सिफारिस तथा आवश्यक कागजात उपलब्ध गराउने व्यवस्था मिलाएको छ । यसले सेवाग्राहीलाई कार्यालयसम्म पुग्नुपर्ने झन्झट कम भएको वडा कार्यालयको भनाइ छ ।
यसैबीच पदयात्रा पर्यटन प्रवर्द्धनका लागि सिक्लेसदेखि कपुचे–तसा–कोरी पदमार्ग विकासको काम अघि बढाइएको छ । गाउँपालिका, पोखरा महानगरपालिका, प्रदेश सरकार र संघीय सरकारको बजेटमार्फत पदमार्ग विकासको काम भइरहेको अध्यक्ष गुरुङले बताए । साथै लोप भइसकेको ताराहिल टप पदमार्गको पुनः पहिचान, संरक्षण र प्रवर्द्धनका लागि पनि पहल थालिएको उनले जानकारी दिए ।




