पोखरा । शैक्षिक परामर्शदाता संस्था ब्रिज इन्टरनेशनल ले आफ्नो २१औं शाखा पोखरामा विस्तार गरेको छ । पोखराको न्युरोडस्थित नयाँ शाखाको बिहीबार इक्यान नेपालका अध्यक्ष लक्ष्मण पौडेल तथा ब्रिज इन्टरनेशनलका ब्रान्ड एम्बासेडर एवं राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेले संयुक्त रूपमा रिबन काटेर उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा बोल्दै इक्यान नेपालका अध्यक्ष लक्ष्मण पौडेलले पर्यटकीय शहर पोखरामा ब्रिज इन्टरनेशनलले शाखा विस्तार गरेकोमा खुसी व्यक्त गरे । उनले वैदेशिक अध्ययनका लागि राजधानी धाउनुपर्ने बाध्यता अब अन्त्य भएको उल्लेख गर्दै पोखराकै विद्यार्थीले सहज रूपमा गुणस्तरीय परामर्श सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरे । साथै, इक्यानसँग सहकार्य गर्दै अघि बढ्न पनि उनले आग्रह गरे ।
कार्यक्रममा ग्लोबल बिजनेसका डाइरेक्टर एन्ड्रिउ हप्किन्सले ब्रिज इन्टरनेशनल वैदेशिक अध्ययनमा जाने विद्यार्थीका लागि “परिवारजस्तै” संस्था बनेको बताए ।

त्यसैगरी, ब्रिज इन्टरनेशनलका ब्रान्ड एम्बासेडर क्रिकेटर सन्दीप लामिछानेले क्रिकेट मैदानमा आफूले विकेट लिने जिम्मेवारी निभाइरहेको उल्लेख गर्दै ब्रिजले विद्यार्थीको भविष्य सुरक्षित बनाउने कार्य गरिरहेको बताए । उनले विद्यार्थी, शैक्षिक परामर्शदाता तथा युवाहरूलाई देशलाई साथमा लिएर अघि बढ्न आग्रह समेत गरे ।
ब्रिज इन्टरनेशनलका सिइओ भुवन गिरीले सन् २०१५ मा स्थापना भएको संस्थाले आज २१औं शाखा पोखरामा विस्तार गर्न सफल हुनु गौरवको विषय भएको बताए । पोखराबाट वैदेशिक अध्ययन परामर्शका लागि काठमाडौं धाउनुपर्ने समस्या अब समाधान भएको उल्लेख गर्दै उनले ब्रिजले भिसा सेवा मात्र नभई आफ्टर भिसा सर्भिस समेत प्रभावकारी रूपमा प्रदान गर्दै आएको जानकारी दिए ।
कार्यक्रममा ब्रिज इन्टरनेशनल ग्रुपका एडभाइजरी बोर्ड सदस्य खड्ग गुरुङले शिक्षा मात्र नभई पर्यटन प्रवर्द्धनमा समेत पोखराले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले बेलायतस्थित ब्रिजका प्रतिनिधिहरूलाई समेत पोखरा ल्याउन सफल भएको उल्लेख गर्दै आगामी दिनमा पोखरा र आसपासका विद्यार्थीलाई अझ सहज सेवा उपलब्ध हुने विश्वास व्यक्त गरे ।
उक्त कार्यक्रममा इक्यानका निवर्तमान अध्यक्ष शेषराज भट्टराई, ब्रिज इन्टरनेशनलका चेयरपर्सन महेश गिरीलगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।




