पोखरा । नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाअन्तर्गतका सात वटा विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा जनप्रतिनिधिसहितको टोलीले पोखरा–८ सिमलचौरस्थित जनप्रिय माध्यमिक विद्यालयको शैक्षिक अवलोकन भ्रमण गरेको छ ।
प्रविधिमैत्री सिकाइ परियोजनाअन्तर्गत बिहीबार आयोजित अवलोकन भ्रमणमा गाउँपालिकाभित्रका सात माध्यमिक विद्यालयका प्रधानाध्यापक, विषयगत शिक्षक तथा गाउँपालिका उपाध्यक्ष भगवती क्षेत्रीसहित ४२ जनाको सहभागिता रहेको थियो ।
भ्रमणका क्रममा टोलीले विद्यालयको प्रयोगशाला, कक्षाकोठा व्यवस्थापन, सीपमूलक सिकाइ पद्धति, नतिजा सुधारका उपाय, शिक्षक व्यवस्थापन तथा अभिभावकसँगको समन्वयलगायत विषयमा जानकारी लिएको थियो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष क्षेत्रीले शिक्षा क्षेत्रमा अझै सुधार आवश्यक रहेको उल्लेख गर्दै सिकाइयोग्य अभ्यासलाई स्थानीय तहमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
जनप्रिय मावि शिक्षक अभिभावक सङ्घका अध्यक्ष केदार धमलाले अन्तरजिल्लास्तरीय शैक्षिक भ्रमणले विद्यालय व्यवस्थापन तथा शिक्षण प्रणाली सुधारका पक्ष पहिचान गर्न सहयोग पुग्ने धारणा राख्नुभयो । उहाँले व्यवहारिक तथा प्रविधिमैत्री शिक्षामा जोड दिन आवश्यक रहेको बताउनुभयो ।

अध्यक्ष धमलाले गण्डकी प्रदेशलाई शिक्षाको केन्द्रका रूपमा विकास गर्न शिक्षक, विद्यार्थी तथा अभिभावकको समान भूमिका आवश्यक पर्ने उल्लेख गर्नुभयो ।
प्रतिनिधि शिक्षकहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै विद्यालयका प्रधानाध्यापक देवीप्रसाद बस्ताकोटीले असल अभ्यास आदानप्रदानसँगै स्मार्ट बोर्ड तथा समयअनुकूल शैक्षिक वातावरण निर्माणमा जोड दिनुपर्ने बताउनुभयो ।
उहाँले अनुशासन व्यवस्थापन, दण्ड तथा पुरस्कार प्रणाली, स्रोत–साधनको उपयोग, अतिरिक्त कक्षा सञ्चालन, शिक्षक अनुपस्थित हुँदाको व्यवस्थापन तथा अभिभावकसँगको समय व्यवस्थापनबारे अनुभव आदानप्रदान गर्नुभएको थियो ।
अवलोकन भ्रमणमा भानुदय मावि, मणिसंगम मावि, शिवपुरगढी मावि, सूर्यज्योति मावि, दीपेन्द्र मावि तथा नारायणी गण्डकी माविका प्रधानाध्यापक तथा विषयगत शिक्षकहरूको सहभागिता रहेको थियो।
विनयी त्रिवेणी गाउँपालिकाका शिक्षा शाखा प्रमुख भुपराज पाण्डेयले कार्यक्रमको सहजीकरण तथा सहभागीहरूको परिचय गराउनुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका सचिव भविश्वर पाण्डेले पनि शिक्षा क्षेत्रमा अनुभव आदानप्रदानको महत्वबारे जानकारी गराउनुभएको थियो ।




