newa srijana

रासस गण्डकी प्रदेश प्रमुख पौडेललाई मिलेनियम ट्रेक अवार्ड प्रदान गरिने

पोखरा । मिलेनियम ट्रेक व्यवस्थापन समितिले राष्ट्रिय समाचार समिति (रासस) गण्डकी प्रदेश कार्यालयका प्रमुख वासुदेव पौडेललाई ‘मिलेनियम ट्रेक अवार्ड’ प्रदान गर्ने भएको छ ।

समाचार सम्प्रेषणमार्फत नेपालको पहिलो मध्यपहाडी पदमार्ग ‘मिलेनियम ट्रेक’को प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै आगामी जेठ २३ गते नेपाल पर्यटन बोर्डको केन्द्रीय कार्यालय, काठमाडौंमा आयोजित समारोहमा पौडेललाई उक्त अवार्ड प्रदान गरी सम्मान गरिने भएको हो ।

मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङका अनुसार पौडेललाई १५ हजार ५ सय ५५ रुपैयाँ नगद, दोसल्ला र सम्मानपत्रसहित अवार्ड प्रदान गरिनेछ ।

उक्त अवार्डका लागि एक लाख ११ हजार १११ रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ । यसअघि सो अवार्डबाट टान गण्डकी तथा पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष डम्बर केसी सम्मानित भइसकेका छन् ।

World link net

अवार्डबाट सम्मानित हुन लागेका पौडेलले यसअघि राष्ट्रिय समाचार समितिबाट दुई पटक ‘वर्ष उत्कृष्ट आलेख पुरस्कार’ प्राप्त गरिसकेका छन् ।

पत्रकारितामार्फत समाजमा योगदान पुर्‍याएबापत उनले पोखरा वृद्धाश्रमद्वारा सञ्चालित ऋषिलिला पत्रकारिता पुरस्कार, गुरुङ पर्यटन व्यवसायी संघ (जिटिन) गण्डकी प्रदेशबाट पत्रकारिता सम्मान, पर्यटन यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशबाट पत्रकार सम्मान, दहचोक एकता सम्मान, चन्द्रागिरि पत्रकार सम्मान, अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार, गाउँ पर्यटन पत्रकारिता पुरस्कार, लेखनाथ पत्रकारिता पुरस्कार, संरक्षण पत्रकारिता पुरस्कारलगायत विभिन्न सम्मान तथा पुरस्कार प्राप्त गरेका छन् । साथै एगा, टेवान, एग्रो टुरिज्म सहकारी, सिलिङ्गे महिला चेतना समूह, मिलनसार सहकारीलगायत दर्जनौँ संघसंस्थाबाट पनि उनी सम्मानित भइसकेका छन् ।

वि.सं. २०६३ सालदेखि राससमा आबद्ध पौडेलले त्यसअघि जनमन्थन साप्ताहिकमा स्तम्भ लेखन गरेका थिए । उनले कीर्तिपुरबाट प्रकाशित ‘इभिनिङ टाइम्स’ साप्ताहिकमा सहसम्पादक तथा ‘स्वर्णिम सन्देश’ साप्ताहिकमा सम्पादकको जिम्मेवारी समेत निर्वाह गरेका थिए । हाल उनी पोखराका पर्यटनसम्बद्ध संघसंस्थाहरूको छाता संगठन पोखरा पर्यटन परिषद्का प्रेस सल्लाहकार समेत रहेका छन् ।

तनहुँको दुलेगौंडादेखि स्याङ्जाको रामबाछासम्म फैलिएको मिलेनियम ट्रेक सन् २००० देखि औपचारिक रूपमा सञ्चालनमा आएको हो । हिमाली तथा पहाडी भू–दृश्यको अवलोकन गर्दै बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म सबै उमेर समूहका व्यक्तिले पदयात्रा गर्न सक्ने यस पदमार्गमा विभिन्न ऐतिहासिक कोट, दरबार र गुफाहरूको अवलोकन गर्न सकिन्छ ।

छ रात सात दिनमा पूरा गर्न सकिने यो पदमार्ग चरा पर्यटनका लागि पनि आकर्षक गन्तव्य मानिन्छ । यहाँ करिब ३०० प्रजातिका चराहरू पाइन्छन् । पदमार्गका विभिन्न स्थानमा नेपालमा मात्रै पाइने दुर्लभ चरा ‘काँडे भ्याकुर’ पनि प्रशस्त मात्रामा देख्न सकिन्छ ।

सिटीजन फनिच्रर