पोखरा । कास्कीको पोखरा महानगरपालिका–३० स्थित शिशुवा ज्येष्ठ नागरिक समाजमा आयोजित आँखा शिविरबाट २४९ जना लाभान्वित भएका छन् ।
उमेर बढ्दै जाँदा आँखामा देखिने विभिन्न समस्याको पहिचान तथा न्यूनीकरण गर्ने उद्देश्यले ज्येष्ठ नागरिक समाजको भवन शिशुवामा आयोजित शिविरमा आँखा परीक्षण, निःशुल्क औषधि वितरण तथा चस्मा वितरण गरिएको हो ।

दीपशिखा बहुउद्देश्यीय सामुदायिक सिकाइ केन्द्र पोखरा–२८ को व्यवस्थापन, हिमालय आँखा अस्पतालको प्राविधिक सहयोग तथा हेल्पिङ ह्यान्डको आर्थिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो।
कार्यक्रममा शिशुवा ज्येष्ठ नागरिक समाजका अध्यक्ष ताराप्रसाद पौडेल, सल्लाहकार इन्द्रबहादुर थापा, दीपशिखा बहुउद्देश्यीय सामुदायिक सिकाइ केन्द्र पोखरा–२८ का अध्यक्ष कृष्णहरि भण्डारी तथा कोषाध्यक्ष माधव भण्डारीलगायतले यस्ता स्वास्थ्य शिविर समय–समयमा सञ्चालन गर्न सके ज्येष्ठ नागरिकका स्वास्थ्य समस्या समाधानमा सहज हुने विश्वास व्यक्त गरेका थिए ।




