newa srijana

प्रतिभा माविद्वारा नवआगन्तुक विद्यार्थीलाई स्वागत

पोखरा । पोखराको पालिखेचोकस्थित प्रतिभा माध्यमिक विद्यालयले कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्प्रेरणामूलक कार्यक्रम आयोजना गरेको छ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरी विद्यालयमा भर्ना भएका विद्यार्थीका लागि आयोजित कार्यक्रममा विज्ञान, व्यवस्थापन तथा होटल व्यवस्थापन संकायका विद्यार्थी सहभागी भएका थिए। कार्यक्रमको उद्घाटन मणिपाल शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडुभिल, विद्यालय सञ्चालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेललगायतले गर्नुभएको थियो।

कार्यक्रममा प्रमुख अतिथि ओडुभिलले जीवनमा आइपर्ने चुनौती र अवसरलाई सकारात्मक सोचका साथ सामना गर्दै निरन्तर प्रगतिशील बन्न विद्यार्थीलाई आग्रह गर्नुभयो। उहाँले सफलता प्राप्तिका लागि मेहनत, अनुशासन र सकारात्मक दृष्टिकोण अपरिहार्य रहेको बताउनुभयो।

विद्यालयका प्राचार्य किरण सापकोटाले विद्यार्थीले आफ्नो क्षमता पहिचान गरी लक्ष्यप्रति केन्द्रित हुनुपर्ने बताउनुभयो। व्यक्तिमा निहित क्षमता पहिचान गरी त्यसअनुसार अघि बढ्न सके सफलता हासिल गर्न सहज हुने उहाँको भनाइ थियो।

उहाँले जात, धर्म, आर्थिक अवस्था वा सामाजिक पृष्ठभूमिलाई प्रगतिको बाधक नमान्न विद्यार्थीलाई सुझाव दिँदै असल नागरिक बन्नेतर्फ ध्यान दिन आग्रह गर्नुभयो। जीवनमा धनी वा शक्तिशालीभन्दा पनि असल मानिस बन्नु महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि निरन्तर मेहनत आवश्यक पर्ने बताउनुभयो।

World link net

प्राचार्य सापकोटाले विद्यालयले विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानमात्र नभई संस्कार, व्यक्तित्व विकास र नेतृत्व क्षमताको समेत शिक्षा प्रदान गर्दै आएको बताउनुभयो। विद्यालयले देशभित्र मात्र नभई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत आफ्नो पहिचान स्थापित गर्न सफल भएको उहाँले उल्लेख गर्नुभयो।

व्यवस्थापन शिक्षा वर्तमान समयको आवश्यकता भएको उल्लेख गर्दै उहाँले रोजगार खोज्ने मात्र नभई रोजगार सिर्जना गर्ने जनशक्ति उत्पादनतर्फ विद्यार्थीलाई प्रेरित गर्नुभयो।

विद्यालय सञ्चालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले मेहनत र लगनशीलताका साथ अध्ययन गर्ने विद्यार्थीले उत्कृष्ट नतिजा हासिल गर्ने बताउनुभयो। समयअनुकूल शिक्षा प्रदान गर्न विद्यालय सधैँ प्रतिबद्ध रहेको उहाँको भनाइ थियो।

कार्यक्रममा विद्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत भलिबल खेल क्षेत्रमा विशेष योगदान पुर्‍याएको भन्दै म्याग्दी जिल्ला भलिबल सङ्घलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरेको थियो। साथै, प्रतिभा माविमा भलिबल खेलको जग बसाल्न योगदान पुर्‍याएका तथा हाल म्याग्दी जिल्ला भलिबल सङ्घका अध्यक्ष तेजेन्द्र बानियाँ र सङ्घका सदस्य तथा विद्यालयका भलिबल प्रशिक्षक कुमार किसानलाई सम्मान गरिएको थियो।

कार्यक्रममा गायक प्रकाश दुतराज र उनको ब्याण्डले सांगीतिक प्रस्तुति दिएका थिए भने विद्यार्थीहरूले पनि विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।

सिटीजन फनिच्रर