newa srijana

पत्रकारका लागि अनुसन्धानमूलक लेखन तालिम सुरु

पोखरा । नेपाल पत्रकार महासङ्घ कास्कीको आयोजनामा पत्रकारहरूका लागि अनुसन्धानमूलक लेखन तालिम आइतबारदेखि सुरु भएको छ।

जेठ २७ गतेसम्म सञ्चालन हुने तालिमको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्नुभयो।

उद्घाटन समारोहमा बोल्दै प्रमुख आचार्यले पत्रकारिता क्षेत्रलाई अझ जिम्मेवार, व्यावसायिक र अद्यावधिक बनाउन आवश्यक रहेको बताउनुभयो। नेपालमा शैक्षिक उपाधि प्राप्त गरेपछि सिकाइ प्रक्रिया समाप्त हुन्छ भन्ने गलत धारणा रहेको उल्लेख गर्दै उहाँले निरन्तर अध्ययन र सिकाइको संस्कृतिलाई प्रवर्द्धन गर्नुपर्ने धारणा राख्नुभयो।

पत्रकारिता संवेदनशील र गतिशील क्षेत्र भएकाले यसमा आबद्ध व्यक्तिहरू समयसँगै अद्यावधिक रहनुपर्ने उहाँको भनाइ थियो। सूचना तथा प्रविधिको तीव्र विकाससँगै विश्वका जुनसुकै स्थानका घटना र सूचनाबारे पत्रकारहरू प्रतिपल जानकार रहनुपर्ने चुनौती रहेको उहाँले औँल्याउनुभयो।

World link net

अरूलाई मार्गनिर्देशन गर्ने भूमिकामा रहने पत्रकारहरूले आफूलाई सधैँ सक्षम र तयार राख्नुपर्ने उल्लेख गर्दै प्रमुख आचार्यले पोखरा महानगरपालिका पत्रकारहरूको व्यावसायिक विकासका लागि सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभयो।

नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष माधव बरालले पत्रकारिता क्षेत्रलाई थप व्यावसायिक र परिष्कृत बनाउन तालिम उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो। महासङ्घले विगतमा विभिन्न तालिम सञ्चालन गरे पनि अनुसन्धानमूलक लेखनसम्बन्धी यो कार्यक्रम विशेष प्रकृतिको रहेको उहाँले बताउनुभयो।

महासङ्घ कास्कीका उपाध्यक्ष माधव रेग्मीले पछिल्लो समय पठन संस्कृतिमा आएको ह्रास तथा समाचार सामग्रीको प्रभावकारितामा देखिएका चुनौतीलाई सम्बोधन गर्ने उद्देश्यले तालिम आयोजना गरिएको जानकारी दिनुभयो। पत्रकारहरूको हकहितसँगै क्षमता अभिवृद्धिमा महासङ्घ निरन्तर क्रियाशील रहेको उहाँको भनाइ थियो।

तालिममा डा. कुन्दन अर्याल, डा. श्रीराम पौडेल र डा. कपिल अधिकारीले प्रशिक्षण दिनुहुनेछ। तालिममा पोखराका ६० जना पत्रकारको सहभागिता रहेको आयोजकले जनाएको छ।

सिटीजन फनिच्रर