पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा सिन्धुली जिल्ला घर भई हाल पोखरा–१८ सराङकोटस्थित मामाघरमा बस्दै आएका अन्दाजी २३ वर्षीय कान्छा मगर रहेका छन्। उनी आइतबार दिउँसो तालको रेस्क्यु टावर नजिक पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए।

युवक डुबेको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बलको पोखरा–५ मालेपाटनस्थित २४ नम्बर कालिका गणको हेडक्वार्टरबाट सशस्त्र प्रहरी निरीक्षक कमल वलीको कमाण्डमा गोताखोरसहित ११ जनाको टोली खटिएको थियो। उक्त टोलीले खोजतलासका क्रममा मगरको शव फेला पारी तालबाट बाहिर निकालेको थियो।
तालबाट निकालिएको शवलाई इलाका प्रहरी कार्यालय डाँडाकोनाकाबाट प्रहरी नायब उपरीक्षक गुणराज बुढाथोकीको कमाण्डमा खटिएको टोलीले पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेको थियो।




