newa srijana

भारतीय बजार लक्षित गर्दै नाट्टा गण्डकीको कोलकत्ता अभियान

पोखरा । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशले भारतीय पर्यटक आकर्षित गर्ने उद्देश्यले भारतको पश्चिम बंगालस्थित कोलकत्तामा ‘पोखरा–नेपाल प्रवर्द्धन अभियान तथा बीटूबी सेल्स मिसन’ सञ्चालन गर्ने भएको छ।

नाट्टा गण्डकीले बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत जेठ २८ गतेदेखि असार १ गतेसम्म सञ्चालन हुने अभियानबारे जानकारी दिएको हो। कार्यक्रममार्फत पोखरा, गण्डकी प्रदेश तथा समग्र नेपालको पर्यटन प्रवर्द्धन, बजार विस्तार र विदेशी पर्यटक आगमन वृद्धि गर्ने लक्ष्य राखिएको छ।

नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहालले संस्थाले विगतदेखि नै आन्तरिक तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धनात्मक भ्रमण, सेल्स मिसन तथा पर्यटन प्रवर्द्धन अभियान सञ्चालन गर्दै आएको बताए। पटना, वाराणसी, अयोध्या, गोरखपुर र सिलिगुडीलगायत भारतीय सहरमा सञ्चालन गरिएका यस्ता कार्यक्रमले भारतीय पर्यटक आगमनमा सकारात्मक प्रभाव पारेको उनको भनाइ थियो।

पर्यटन क्षेत्र पछिल्लो समय विभिन्न कारणले प्रभावित भइरहेका बेला भारत प्रमुख स्रोत बजार भएकाले भारतीय पर्यटक लक्षित कार्यक्रमलाई निरन्तरता दिन लागिएको उनले बताए। अभियानमार्फत भारतीय पर्यटन बजारमा पोखरा र नेपालको उपस्थिति थप सशक्त बनाउने लक्ष्य लिइएको छ।

कोलकत्तामा आयोजना हुने कार्यक्रममा पोखरा र नेपालको पर्यटनसम्बन्धी वृत्तचित्र प्रदर्शन, प्रवर्द्धनात्मक सामग्री वितरण तथा पर्यटन व्यवसायीबीच व्यवसाय–व्यवसाय (बीटूबी) अन्तरक्रिया गरिने अध्यक्ष दाहालले बताए। कार्यक्रममा पर्यटन व्यवसायी, पत्रकार तथा सामाजिक सञ्जालका प्रभावशाली व्यक्तिहरूको सहभागिता रहने जनाइएको छ।

World link net

नाट्टा गण्डकीका महासचिव चेतबहादुर कार्कीले अभियानलाई प्रवर्द्धनमा मात्र सीमित नराखी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका प्रमुख सहरमा सिधा हवाई उडान सञ्चालनका सम्भावनाबारे सम्बन्धित निकायसँग छलफल गरिने बताए। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान विस्तारलाई अभियानको प्रमुख एजेन्डाका रूपमा अघि सारिएको उनको भनाइ थियो।

अभियानका क्रममा भारतका विभिन्न पर्यटनसम्बद्ध संस्थासँग सहकार्य तथा व्यावसायिक समझदारीका विषयमा पनि छलफल हुने जनाइएको छ। नाट्टा गण्डकीका प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक सङ्गीता पौडेलले कोलकत्तास्थित पर्यटन संस्थासँग सम्बन्ध विस्तार र सहकार्यका अवसर खोजिने बताइन्।

“नेपाल आउने विदेशी पर्यटकमध्ये भारतीयको संख्या उल्लेखनीय छ। यस प्रकारका अभियानले पोखरा र भारतका विभिन्न सहरबीच पर्यटन प्रवर्द्धनसँगै हवाई सम्पर्क विस्तारमा सकारात्मक योगदान पुर्‍याउनेछ” नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले बताए।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले भारतीय पर्यटक पोखराको पर्यटन उद्योगका प्रमुख आधारमध्ये एक भएको उल्लेख गर्दै यस्ता प्रवर्द्धनात्मक अभियानले पोखराको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने बताए।

“विगतमा सञ्चालन गरिएका यस्ता अभियानले सकारात्मक नतिजा दिएका छन्। कोलकत्ता अभियानले पनि पर्यटन प्रवर्द्धनमा थप टेवा पुर्‍याउने अपेक्षा गरेका छौं,” नाट्टा गण्डकीका पूर्वअध्यक्ष बासु त्रिपाठीले बताए।

अध्यक्ष दाहालको नेतृत्वमा २१ सदस्यीय टोली अभियानमा सहभागी हुने जनाइएको छ। टोलीले कोलकत्ताका प्रमुख पर्यटकीय गन्तव्यको अवलोकनसमेत गर्ने कार्यक्रम रहेको छ।

सिटीजन फनिच्रर