newa srijana

पत्रकारितामा अनुसन्धान संस्कृति विकासका लागि लेख लेखन तालिम सम्पन्न

पोखरा । पत्रकारितालाई अनुसन्धानमुखी तथा बौद्धिक बनाउने उद्देश्यसहित पोखरामा आयोजित ‘अनुसन्धानमूलक लेख लेखन तालिम’ सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा तथा पोखरा महानगरपालिकाको आर्थिक सहयोगमा चार दिनसम्म सञ्चालन भएको उक्त तालिम बुधबार समापन गरिएको हो ।

समापन सत्रमा पत्रकारिता क्षेत्रको वर्तमान अवस्था, यसको भविष्य र प्रविधिको प्रभावबारे विस्तृत छलफल भएको थियो । सहभागी वक्ताहरूले पत्रकारितालाई केवल समाचार सङ्कलन र प्रस्तुतीकरणमा सीमित नराखी अनुसन्धानमुखी बनाउँदै प्राज्ञिक अभ्याससँग जोड्नुपर्नेमा जोड दिएका थिए ।

यसै क्रममा त्रिभुवन विश्वविद्यालय पत्रकारिता विभागका प्रमुख डा. कुन्दन अर्यालले पत्रकारिता क्षेत्रमा बौद्धिक विकास र अनुसन्धानको आवश्यकता झनै बढ्दै गएको बताए । उहाँले नेपालमा मानव सञ्चार तथा पत्रकारिता क्षेत्रका दक्ष विज्ञहरूको अभाव रहेको उल्लेख गर्दै विश्वविद्यालय तहमा यस विषयको अध्ययन–अनुसन्धानलाई व्यवस्थित र विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए ।

World link net

पत्रकारिता शिक्षा र अभ्यासमा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग बढ्दै गएको उल्लेख गर्दै यसको अवसर र चुनौती दुवै पक्षमा गम्भीर बहस आवश्यक रहेको सोही विभागका डा. श्रीराम पौडेलले बताए । उहाँले प्रविधिबाट टाढा भाग्ने नभई त्यसलाई जिम्मेवार र प्रभावकारी रूपमा प्रयोग गर्ने क्षमता विकास गर्नुपर्ने धारणा व्यक्त गरे ।

पोखराको शैक्षिक तथा बौद्धिक वातावरणको प्रशंसा गर्दै यहाँका कलेज, विद्यार्थी तथा अनुसन्धानकर्ताहरूलाई अनुसन्धानमुखी गतिविधिमा सक्रिय हुन आग्रह गर्दै पत्रकारितालाई समाज परिवर्तनको महत्वपूर्ण माध्यमका रूपमा स्थापित गर्न अनुसन्धानको भूमिका अझ बढ्दै गएको उहाँले बताए ।

पत्रकारिता क्षेत्रको गुणस्तर अभिवृद्धि गर्न यस्ता तालिम अत्यन्त महत्वपूर्ण हुने नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधवप्रसाद बरालले बताए । उहाँले महासंघले पछिल्ला वर्षहरूमा विभिन्न क्षमता विकासमूलक कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै यस पटकको तालिम सामग्री, संरचना र उद्देश्यका हिसाबले फरक र विशेष प्रकृतिको रहेको स्पष्ट पारे । यस्ता तालिमहरूले पत्रकारहरूलाई समाचार लेखनमा मात्र सीमित नराखी अनुसन्धानमुखी लेखनतर्फ उन्मुख गराउने आधार तयार गर्ने उहाँले बताए ।

तालिममा त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख डा. अर्यालसहित सोही विभागका डा. श्रीराम पौडेल, सहप्राध्यापक डा. कपिल अधिकारी तथा पृथ्वीनारायण क्याम्पस मानवशास्त्र विभागका प्राध्यापक अमृतकुमार भण्डारीले प्रशिक्षण दिएका थिए ।

सिटीजन फनिच्रर