newa srijana

रास्वपा गण्डकी सभापतिमा नवीन त्रिपाठी विजयी

पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट नवीन त्रिपाठी अध्यक्षमा निर्वाचित भएका छन्। शुक्रबार राति अबेर सम्पन्न मतदानमा तीन प्रतिस्पर्धीलाई पछि पार्दै त्रिपाठी पहिलो चरणमै ५० प्रतिशतभन्दा बढी मत प्राप्त गरेर विजयी भएका हुन्।

अध्यक्ष पदका लागि नवलपुरका राजन गौतम, कास्कीका नवीन त्रिपाठी, माधवप्रसाद कँडेल र हरिबहादुर कार्की चुनावी मैदानमा थिए। त्रिपाठीले २३४ मत प्राप्त गर्दा बहालवाला सभापति तथा प्रतिनिधिसभा सदस्यसमेत रहेका गौतमले १८२ मत पाए। अर्का उम्मेदवार माधव कँडेलले ११ मत र हरिबहादुर कार्कीले २ मत प्राप्त गरे।

अध्यक्ष पदका आकांक्षीबीच सर्वसम्मतिको प्रयासलगायत विभिन्न कारणले निर्वाचन तालिका प्रभावित भएको थियो। निर्धारित समयभन्दा ढिलो गरी राति ११ बजे मात्र मतदान सुरु भएको थियो।

गौतम रास्वपा गण्डकीका निवर्तमान सभापति हुन् भने त्रिपाठी महासचिवका रूपमा कार्यरत थिए। कँडेल २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कास्की क्षेत्र नम्बर २ का उम्मेदवार थिए। कार्की वैकल्पिक राजनीति, सामाजिक अभियान तथा शिक्षा क्षेत्रमा लामो समयदेखि सक्रिय छन्।

गण्डकी प्रदेश समितिको सदस्य पदका लागि ५१ जनाले उम्मेदवारी दिएका छन्। विभिन्न क्लस्टरअन्तर्गत ३३ जना निर्वाचित हुने व्यवस्था छ। क्षेत्रगत प्रदेश सदस्यका लागि २८ जनाको उम्मेदवारी परेको छ, जसमध्ये गण्डकी प्रदेशका १८ निर्वाचन क्षेत्रबाट एक–एक जना निर्वाचित हुनेछन्। समावेशी प्रदेश सदस्यतर्फ २३ जनाको उम्मेदवारी परेको छ, जहाँबाट १५ जना निर्वाचित हुनेछन्।

प्रदेश सदस्यका ५१ आकांक्षीमध्ये १२ जना निर्विरोध निर्वाचित भएका छन्। क्षेत्रगत प्रदेश सदस्यतर्फ बागलुङ–१ बाट मीना शर्मा आचार्य, गोरखा–१ बाट मनोज गुरुङ, गोरखा–२ बाट बलबहादुर घले, लमजुङबाट विजय पराजुली, म्याग्दीबाट ताराबहादुर कार्की र तनहुँ–१ बाट सूर्यमणि पौडेल निर्विरोध निर्वाचित भएका छन्।

समावेशी सदस्यतर्फ खसआर्य महिलाबाट सीताकुमारी अर्याल, कृष्णकुमारी अधिकारी (अनिशा) र राममाया बस्ताकोटी निर्विरोध निर्वाचित भएका छन्। मुस्लिम महिलाबाट समिउन निशा, दलित महिलाबाट गीता विश्वकर्मा तथा अपांगता भएका खसआर्य समूहबाट यदुनाथ सिग्देल निर्विरोध निर्वाचित भएका छन्।

World link net

निर्विरोध चयन भएका १२ जनाबाहेक बाँकी ३९ उम्मेदवारबीच २१ सदस्य पदका लागि निर्वाचन भएको हो। गण्डकी प्रदेश अधिवेशनमा ७८० प्रतिनिधि सहभागी छन्। पार्टी विधानअनुसार प्रदेश समितिले पछि चार जना सदस्य मनोनयन गर्न सक्ने व्यवस्था छ।

अधिवेशनको उद्घाटन रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले गरेका थिए। कार्यक्रममा बोल्दै उनले पार्टीको सांगठनिक संरचना तथा उम्मेदवार छनोट प्रक्रियालाई परिमार्जन गर्दै राजनीतिलाई सेवाका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले अधिवेशनलाई नेतृत्व चयनको प्रक्रिया मात्र नभई विचार र नीतिको मन्थन गर्ने थलोका रूपमा व्याख्या गरे। “अधिवेशन भनेको नेतृत्व चयन मात्र होइन, नीति निखार गर्ने थलो पनि हो,” उनले भने।

प्रविधिको प्रयोग गरी भर्चुअल माध्यमबाट निर्वाचन गर्न सकिने भए पनि कार्यकर्ताको वास्तविक क्षमता र इमानदारिता मूल्यांकन गर्न भौतिक उपस्थितिको आवश्यकता रहेको उनको भनाइ थियो। राजनीतिमा देखिएका विकृतिप्रति संकेत गर्दै उनले राजनीतिलाई कर्मका रूपमा लिनुपर्ने तर कसैको व्यक्तिगत स्वार्थको माध्यम बन्न नदिनुपर्ने धारणा राखे।

पार्टी स्थापनापछि छोटो समयमै प्राप्त जनसमर्थनको चर्चा गर्दै बुर्लाकोटीले रास्वपा कुनै एक व्यक्तिको स्वार्थका लागि नभई देशको भविष्य निर्माण गर्ने उद्देश्यले स्थापना भएको बताए। “हामी आफ्नो राजनीतिक भविष्य खोज्न पार्टीमा जोडिएका होइनौँ, देशको भविष्य निर्माण गर्न जोडिएका हौँ,” उनले भने। उनले कार्यकर्तालाई सोही भावनाअनुसार अघि बढ्न आग्रह गरे।

रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टीको सांगठनिक संरचना अब ‘मास बेस्ड’ र ‘क्याडर बेस्ड’ दुवै अवधारणाको समिश्रणका रूपमा अघि बढ्ने बताए।

“हामीले पार्टी स्थापना गर्दा मास बेस्ड भन्यौँ, तर अहिले धेरैले क्याडर बेस्ड बनाउन लाग्यो भनेर टिप्पणी गरिरहेका छन्,” उनले भने, “कसैले भ्रममा पर्नु आवश्यक छैन, रास्वपा अब यी दुवै अवधारणाको मिश्रणबाट अघि बढ्छ।”

आगामी निर्वाचनको तयारी र उम्मेदवार छनोटबारे बोल्दै उनले पार्टीले ‘क्यान्डिडेट क्लब’को अवधारणा अघि सारेको जानकारी दिए। पार्टी नेतृत्वमा रहेका व्यक्तिहरू नै आगामी निर्वाचनका निर्विकल्प उम्मेदवार नहुने स्पष्ट पार्दै उनले क्षमता भएका र राष्ट्र निर्माणमा योगदान दिन चाहने जोसुकै नागरिकलाई उक्त क्लबमार्फत जोड्न सकिने बताए।

सिटीजन फनिच्रर