पोखरा । नागढुङ्गा आमा समूहको आयोजना तथा पोखरा महानगरपालिका वडा नं. ९ को आर्थिक सहयोगमा पोखराको नागढुङ्गामा एकदिने अभिमुखीकरण तथा प्रस्तावना लेखनसम्बन्धी तालिम सम्पन्न भएको छ।
तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि वडा नं. ९ का सदस्य लक्ष्मी पहारीले महिलाहरूको व्यक्तित्व तथा नेतृत्व विकासका लागि वडाले विभिन्न तालिममा सहयोग प्रदान गर्दै आएको बताए। वडा सदस्य नन्दराम गिरीले तालिमपछि समूहका सदस्यहरूमा आत्मविश्वासका साथै क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गरे।

आयोजक नागढुङ्गा आमा समूहकी अध्यक्ष कमला श्रेष्ठले तालिमका लागि सहयोग उपलब्ध गराएकोमा वडा नं. ९ कार्यालयप्रति आभार व्यक्त गरिन्। समूहकी उपाध्यक्ष सीमा लामिछानेले स्वागत मन्तव्य राख्दै तालिम एक दिनको मात्र भए पनि समूहका लागि महत्त्वपूर्ण रहेको बताइन्।
प्रशिक्षक दुर्गा अधिकारीले अभिमुखीकरण तथा प्रस्तावना लेखनका बारेमा विस्तृत जानकारी गराउँदै कुनै पनि कार्यक्रम आयोजनाका लागि प्रस्तावना लेखन महत्त्वपूर्ण हुने बताइन्।
समूहकी सहसचिव पार्वती अधिकारीले कार्यक्रम सञ्चालन गरेकी थिइन्। तालिममा समूहमा आबद्ध झण्डै ४० जनाको सहभागिता रहेको थियो।




