newa srijana

एन प्याब्सन कास्कीले आबद्ध विद्यालयका नेतृत्वकर्तालाई दियो प्रशिक्षण

पोखरा । एन प्याब्सन कास्कीको आयोजनामा ‘विद्यालय सशक्तीकरणका लागि २१औँ शताब्दीमा नेतृत्वका चुनौती’ विषयक प्रशिक्षण शनिबारदेखि सुरु भएको छ।

काठमाडौँ युनिभर्सिटी स्कुल अफ एजुकेसनको सहकार्यमा भएको उक्त प्रशिक्षण कार्यक्रम आइतबार समापन हुनेछ। प्रशिक्षण कार्यक्रममा एन प्याब्सनमा आबद्ध ४४ विद्यालयका संस्थापक तथा प्रिन्सिपलहरूको सहभागिता रहेको छ।

उक्त प्रशिक्षण कार्यक्रममा काठमाडौँ युनिभर्सिटी स्कुल अफ एजुकेसनका ढुण्डिराज गिरी, धनपति सुवेदी, डिल्लीराम भट्टराई, स्मृति न्यौपाने, राजीव सुवेदी, कृति सुब्बा र राजन अधिकारीले सहजीकरण गर्नेछन्।

निजी विद्यालयका संस्थापक, प्रिन्सिपल तथा शैक्षिक नेतृत्वमा रहेका व्यक्तिहरूको सहभागिता रहेको उक्त कार्यक्रममा २१औँ शताब्दीको बदलिँदो शैक्षिक परिवेशमा विद्यालय व्यवस्थापन, नेतृत्व क्षमता विकास, नवप्रवर्तन, प्रविधिको उपयोग तथा गुणस्तरीय शिक्षाको प्रवर्द्धनका विषयमा व्यापक छलफल गरिने भएको छ।

World link net

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय गण्डकी प्रदेश, पोखराका निर्देशक सुवास पन्तले प्रभावकारी नेतृत्वले विद्यालयको समग्र विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै शैक्षिक संस्थाहरूले समयको मागअनुसार आफूलाई रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याए। उनले नेतृत्व केवल प्रशासनिक जिम्मेवारीमा सीमित नभई विद्यार्थी, शिक्षक र समुदायलाई सकारात्मक दिशामा प्रेरित गर्ने प्रक्रियासमेत भएको बताए।

एन प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतमले यस्ता प्रशिक्षणले विद्यालय नेतृत्वलाई थप सक्षम, उत्तरदायी र परिणाममुखी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। कार्यक्रमबाट प्राप्त ज्ञान र अनुभवलाई विद्यालय व्यवस्थापन तथा शैक्षिक गुणस्तर अभिवृद्धिमा उपयोग गर्न उनले आग्रह गरे।

प्रशिक्षणका क्रममा सहभागीहरूलाई विद्यालयमा देखापर्ने विभिन्न चुनौतीहरूको पहिचान, समस्या समाधानका उपाय, टोली व्यवस्थापन, निर्णय प्रक्रिया तथा संस्थागत विकासका रणनीतिबारे जानकारी प्रदान गरिएको थियो। सहभागीहरूले समूह छलफल, अनुभव आदानप्रदान तथा अन्तरक्रियात्मक सत्रमार्फत आफ्ना विचार प्रस्तुत गरेका थिए।

एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मनकाजी गुरुङले स्वागत र सचिव प्रेमराज अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए।

सिटीजन फनिच्रर