पोखरा । गायिका पूर्णिमा रसाइलीको पहिलो सांगीतिक कोसेली ‘तिम्रो तस्वीर’ सार्वजनिक भएको छ। क्रेजी फिल्म्सको प्रस्तुतिमा तयार गरिएको गीतले पोखराको संगीत क्षेत्रमा नयाँ ऊर्जा थपेको छ।
एल्विन थापाको शब्द तथा संगीत रहेको गीतमा रसाइलीले स्वर भरेकी छन्। गीतको संगीत संयोजन विनोद रसाइलीले गरेका हुन्। म्युजिक भिडियोको निर्देशन अनूप अधिकारीले गरेका छन् भने छायांकन दीपेश केसी र सुभाष सुवेदीले गरेका हुन्। भिडियोको डीओपी तथा सम्पादन मिलन शंकरले गरेका छन्।
पोखरा आसपासका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको भिडियोले प्रेम र भावनाका विविध आयामलाई प्रस्तुत गरेको छ। औपचारिक रूपमा पहिलो सांगीतिक कोसेली सार्वजनिक गरेकी रसाइलीले संगीतप्रतिको आफ्नो लगावलाई निरन्तरता दिँदै आगामी दिनमा थप उत्कृष्ट सिर्जना लिएर आउने बताए।

गीत सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि तथा ब्रोसिस ब्याण्डका भोकालिस्ट प्रकाश रानाले पोखराबाट पछिल्लो समय संगीत क्षेत्रमा देखिएको सक्रियता, सिर्जनशीलता र नयाँ पुस्ताको उत्साह प्रशंसायोग्य रहेको बताए। राजधानी केन्द्रित संगीत उद्योगको प्रवृत्तिलाई चुनौती दिँदै पोखराबाट पनि गुणस्तरीय सिर्जना उत्पादन भइरहेको उनले उल्लेख गरे।
कार्यक्रममा चलचित्र पत्रकार सङ्घ नेपाल कास्कीका अध्यक्ष सन्तोष बस्यालले पोखराको संगीत क्षेत्रलाई थप उचाइमा पुर्याउन स्थानीय कलाकार, स्रष्टा, संगीतकर्मी र सञ्चारकर्मीबीच सहकार्य आवश्यक रहेको बताए। प्रतिभा, सिर्जना र सम्भावनाको कमी नभए पनि तिनको प्रभावकारी प्रवर्द्धन, प्रचारप्रसार तथा बजार व्यवस्थापन चुनौतीका रूपमा रहेको उनको भनाइ थियो।
अध्यक्ष बस्यालले पछिल्लो समय पोखराबाट गीत, संगीत, चलचित्र तथा म्युजिक भिडियो निर्माणका गतिविधि बढ्दै गएको उल्लेख गर्दै यस्ता सिर्जनात्मक अभियानलाई संस्थागत रूपमा साथ दिन चलचित्र पत्रकार सङ्घ नेपाल कास्की सदैव सकारात्मक रहेको बताए। उनले नयाँ कलाकारलाई सिर्जनामा निरन्तरता दिन आग्रह गर्दै गुणस्तरीय सामग्री निर्माण, डिजिटल प्लेटफर्मको प्रभावकारी प्रयोग तथा आपसी सहकार्यमार्फत पोखराको सांगीतिक पहिचान अझ बलियो बन्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा सहभागी कलाकार तथा संगीतप्रेमीहरूले ‘तिम्रो तस्वीर’ले पूर्णिमा रसाइलीको सांगीतिक यात्रालाई नयाँ उचाइ प्रदान गर्नुका साथै पोखराबाट उदाउँदै गरेका प्रतिभालाई थप उत्साहित बनाउने विश्वास व्यक्त गरेका थिए।




