पोखरा । प्रतिभा बिजनेस स्कुलले काठमाडौं विश्वविद्यालय अन्तर्गतको ‘ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी (बीआईटी)’ कक्षा सञ्चालन गर्ने भएको छ। स्कुलले सन् २०२६ को अगस्ट इनटेकदेखि यो कार्यक्रम सुरु गर्ने जनाएको छ।
गण्डकी प्रदेशमा सूचना प्रविधि शिक्षाको पहुँच विस्तार गर्ने र स्थानीय विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यसहित यो कार्यक्रम ल्याइएको स्कुलले मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो। काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यो कोर्स गण्डकी प्रदेशमै पहिलो पटक सञ्चालन हुन लागेको स्कुलको दाबी छ।
यस कोर्सका लागि जुन १९ देखि जुलाई ९ सम्म अनलाइन प्रवेश परीक्षा फाराम खुला रहने प्रतिभा माविका प्राचार्य किरण सापकोटाले जानकारी दिए। पहिलो शैक्षिक सत्रमा ३० जना विद्यार्थी मात्र भर्ना गरी अध्यापन गराइने उनले बताए।
बीआईटी अध्ययनका लागि विद्यार्थीले साइन्स समूहअन्तर्गत भौतिकशास्त्र, रसायनशास्त्र, गणित र कम्प्युटर साइन्स विषयसहित कक्षा १२ उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै, सीटीईभीटीको तीन वर्षे कोर्समा गणित, भौतिकशास्त्र, रसायनशास्त्र र कम्प्युटर साइन्स अध्ययन गरेका विद्यार्थी पनि भर्ना हुन सक्ने सापकोटाले जानकारी दिए।बीआईटी अध्ययनका लागि ९ लाख ६० हजार रुपैयाँ शुल्क लाग्नेछ। कुल शुल्कको २५ प्रतिशत रकम भर्नाकै समयमा बुझाउनुपर्ने उनले बताए।
कार्यक्रमअन्तर्गत प्रोग्रामिङ फन्डामेन्टल, डाटाबेस म्यानेजमेन्ट सिस्टम, क्लाउड कम्प्युटिङ र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता आधुनिक विषय समावेश गरिएका छन्। यसबाहेक साइबर सेक्युरिटी, मोबाइल एप डेभलपमेन्ट, सफ्टवेयर आर्किटेक्चर र आईटी उद्यमशीलता (आईटी इन्टरप्रेनरसिप) जस्ता विषयले विद्यार्थीलाई दक्ष बनाउने प्रतिभा बिजनेस स्कुलका प्राचार्य रविप्रसाद बरालले जानकारी दिए।

उनका अनुसार सूचना प्रविधिको तीव्र विकाससँगै विश्वव्यापी रूपमा बढ्दै गएको रोजगारी अवसरलाई ध्यानमा राख्दै पाठ्यक्रम तयार गरिएको हो।
बीआईटी कार्यक्रम काठमाडौं विश्वविद्यालयको शैक्षिक मापदण्डअनुसार सञ्चालन हुनेछ, जसको शैक्षिक सुपरीवेक्षण विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङले गर्नेछ। प्रतिभा बिजनेस स्कुलका अध्यक्ष नारायणप्रसाद पौडेलले बीआईटी कार्यक्रम सुरु भएपछि विद्यार्थीले काठमाडौं वा विदेश जानुपर्ने बाध्यता कम हुने बताए।
“उच्च शिक्षामा सूचना प्रविधि विषय थपेर आधुनिक प्राविधिक शिक्षाको केन्द्रका रूपमा विद्यालयलाई विकास गर्ने हाम्रो लक्ष्य हो,” उनले भने, “गण्डकी प्रदेशका विद्यार्थीलाई काठमाडौं वा विदेश जानुपर्ने बाध्यता क्रमशः हट्दै जानेछ भन्ने हाम्रो विश्वास छ।”उनका अनुसार यस कार्यक्रमले विद्यार्थीको आर्थिक भार घटाउनुका साथै स्थानीय प्रतिभालाई घरमै विश्वस्तरीय अवसर प्रदान गर्नेछ।
विद्यार्थीहरू आत्मनिर्भर बन्नुका साथै उद्यमशीलतातर्फ पनि अग्रसर हुने उनले बताए। “अनुसन्धान, नवप्रवर्तन र उद्योगसँगको सहकार्यलाई प्राथमिकतामा राखेर गुणस्तरीय शिक्षा प्रदान गर्ने हाम्रो लक्ष्य हो,” उनले थपे, “यो कोर्स अध्ययन गर्ने विद्यार्थीले पढ्दै कमाउँदै गर्ने अवसर पनि पाउनेछन्।”
प्रतिभा बिजनेस स्कुलले कक्षाकोठाको सिकाइसँगै विद्यार्थीलाई उद्योग र अनुसन्धानसँग जोडेर पोखरालाई शिक्षा र प्रविधिको केन्द्र बनाउने प्रतिबद्धता जनाएको छ।




