पोखरा । पञ्चासे क्षेत्रको पर्यटन प्रवर्द्धनमा सञ्चारमाध्यमको भूमिका प्रभावकारी बनाउने उद्देश्यले सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशले नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयको सहयोगमा आयोजना गरेको दुईदिने पञ्चासे पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ।
भ्रमणका क्रममा सहभागी पत्रकारहरूले पोखरा महानगरपालिका–२३ अन्तर्गत पर्ने पञ्चासेका प्रमुख पर्यटकीय गन्तव्य, स्थानीय होमस्टे, प्राकृतिक सौन्दर्य, जैविक विविधता तथा धार्मिक र सांस्कृतिक सम्पदाको अवलोकन गरेका थिए। पर्यटन सम्भावना, पूर्वाधार विकास, वातावरण संरक्षण, स्थानीय संस्कृतिको संरक्षण तथा पर्यटनमार्फत स्थानीय समुदायको आर्थिक समृद्धिका विषयमा पनि छलफल भएको थियो।
सहभागीहरूले पञ्चासेलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न स्थानीय सरकार, नेपाल पर्यटन बोर्ड, निजी क्षेत्र, स्थानीय समुदाय र सञ्चार क्षेत्रबीच थप समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन्।


नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले सञ्चारमाध्यमबाट हुने तथ्यमा आधारित प्रचार–प्रसारले पञ्चासेजस्ता पर्यटकीय गन्तव्यको पहिचान विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले महिला पत्रकारहरूको अवलोकन भ्रमणबाट प्रकाशित समाचार, लेख र फिचरले पञ्चासेको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए।
पत्रकारहरूको क्षमता अभिवृद्धिसँगै स्थानीय पर्यटनबारे प्रत्यक्ष जानकारी दिलाएर त्यसलाई समाचार र फिचरमार्फत व्यापक रूपमा सार्वजनिक गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशकी अध्यक्ष राधिका कडेलले बताइन्। यस्ता अवलोकन भ्रमणले स्थानीय पर्यटनका विषयमा तथ्यमा आधारित सामग्री उत्पादन गर्न सहयोग पुग्ने उनले बताइन्।
सञ्चारमाध्यममार्फत पञ्चासेको प्रचार–प्रसार बढे आन्तरिक तथा बाह्य पर्यटकको आगमन वृद्धि भई स्थानीय पर्यटन व्यवसाय र समुदायको आयआर्जनमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास पञ्चासे होमस्टे समितिका सञ्चालक होमनाथ पौडेलले व्यक्त गरे।
नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयले यस्ता प्रवर्द्धनात्मक कार्यक्रमले ओझेलमा परेका पर्यटकीय गन्तव्यको पहिचान स्थापित गर्न र पर्यटन बजार विस्तार गर्न सहयोग पुग्ने जनाएको छ।
‘पर्यटनका लागि प्रकृति, संस्कृति र आतिथ्य’ भन्ने नारासहित आयोजित कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न सञ्चारमाध्यममा आबद्ध २१ जना पत्रकार सहभागी थिए।




