पोखरा । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को तीव्र विकाससँगै पत्रकारितामा यसको प्रयोग अब विकल्प नभई आवश्यकता बन्दै गएको निष्कर्ष गण्डकी मिडिया समिट–२०८३ मा सहभागी वक्ताहरूले निकालेका छन्। प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेशद्वारा शनिबार पोखरामा आयोजित समिटमा पत्रकारितामा एआईको प्रभाव, सम्भावना, चुनौती र जिम्मेवार प्रयोगबारे विस्तृत छलफल भएको हो।
अनलाइनखबरका प्रधान सम्पादक बसन्त बस्नेतले आफ्नो सञ्चारमाध्यममा डेढ वर्षदेखि एआईको प्रयोग हुँदै आएको जानकारी दिए। उनले एआईलाई पत्रकारिताको उपयोगी उपकरणका रूपमा प्रयोग गर्नुपर्ने भए पनि समाचारको सत्यता परीक्षणमा त्यसैमा पूर्ण रूपमा निर्भर हुन नहुने बताए।
‘एआईले जहिल्यै सही निर्णय गर्छ भन्ने भ्रम पाल्नु हुँदैन,’ उनले भने, ‘अन्तिम निर्णय गर्ने जिम्मेवारी मानिसकै हुन्छ।’ एआईका कारण केही परम्परागत काम प्रभावित भए पनि त्यसले नयाँ रोजगारीका अवसरसमेत सिर्जना गरेको उनको भनाइ थियो। पत्रकार कुनै पक्षको प्रभावमा नपरी प्रविधिको विकाससँगै आफूलाई अद्यावधिक गर्दै अघि बढ्नुपर्नेमा उनले जोड दिए।
एआई विज्ञ दोभान राईले प्रविधिको विकासलाई ‘बाघको सवारी’सँग तुलना गर्दै त्यसको उपयोगसँगै जोखिमबारे पनि सचेत रहनुपर्ने बताइन्। पाँच वर्षअघि मनोरञ्जनको माध्यमका रूपमा हेरिएको एआई अहिले अत्यन्त शक्तिशाली प्रविधिका रूपमा विकसित भएको उल्लेख गर्दै उनले यसले काम, सम्बन्ध र सिर्जनशीलतामा खोक्रोपन ल्याउने जोखिमसमेत रहेको धारणा राखिन्।

प्रविधिको बढ्दो प्रयोगले मानिसलाई सामाजिक अन्तरक्रियाबाट टाढा पुर्याइरहेको भन्दै उनले एआई प्रयोग गर्दा नैतिकता, सौन्दर्य चेत र मानवीय मूल्यलाई पनि समान महत्त्व दिनुपर्ने बताइन्। ‘पहिले पढ्न सजिलो र लेख्न गाह्रो थियो, अहिले लेख्न सजिलो भएको छ तर पढ्न गाह्रो हुँदै गएको छ,’ उनले भनिन्।
सञ्चार उद्यमी तथा कन्टेन्ट क्रिएटर महेश भण्डारीले एआईलाई प्रतिस्पर्धी होइन, सहयोगी प्रविधिका रूपमा लिनुपर्ने धारणा राखे। एआईले सामग्री तयार गर्न सहयोग गरे पनि मौलिक सोच र न्यारेटिभ निर्माण गर्ने क्षमता मानिसमै रहने उनको भनाइ थियो। हालसम्म करिब ९ सय कन्टेन्ट तयार गरिसकेको उल्लेख गर्दै उनले आफूले प्रत्यक्ष एआई प्रयोग नगरे पनि सम्पादकीय टोलीले त्यसको प्रयोग गरिरहेको जानकारी दिए।
‘हाम्रो पहिचान र विरासत बलियो छ, त्यसैले एआईसँग डराउनुपर्ने अवस्था छैन,’ उनले भने। राजनीतिक विषयमा तयार गरिएका कन्टेन्टमा त्रुटि देखिए सच्याउन आफू तयार रहेको पनि उनले स्पष्ट पारे।
सञ्चारकर्मी रघुनाथ वाग्लेको सहजीकरणमा सञ्चालन भएको करिब एक घण्टाको उक्त सत्रमा प्रताप बानियाँ, आनन्द भट्टराई, विनोद लामिछाने र मन क्षेत्रीले वक्ताहरूसँग एआईको प्रयोग, विश्वसनीयता र पत्रकारिताको भविष्यबारे जिज्ञासा राखेका थिए।




