newa srijana

मुटुरोग रोकथाम र गुणस्तरीय उपचारका लागि सहकार्य सुदृढ बनाउन जोड

'गण्डकी हार्ट मिट–२०२६' मा विशेषज्ञ, जनप्रतिनिधि र सरोकारवालाले मुटुरोगको रोकथाम, गुणस्तरीय उपचार तथा स्वस्थ जीवनशैली प्रवर्द्धनका विषयमा छलफल गर्दै बहुपक्षीय सहकार्य आवश्यक रहेको औँल्याए।

पोखरा । मुटुरोगको रोकथाम, समयमै पहिचान तथा गुणस्तरीय उपचारका लागि सरकार, स्वास्थ्य संस्था, विशेषज्ञ चिकित्सक र समुदायबीचको सहकार्य थप सुदृढ बनाउनुपर्नेमा जोड दिइएको छ।

हेल्दी हार्ट नेपाल र गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको संयुक्त आयोजनामा पोखरामा सम्पन्न एकदिने मुटुरोगसम्बन्धी समीक्षा तथा ‘गण्डकी हार्ट मिट–२०२६’ कार्यक्रममा सहभागीहरूले मुटुरोग नियन्त्रणका लागि जनचेतना अभिवृद्धि, स्वस्थ जीवनशैलीको प्रवर्द्धन तथा विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच विस्तार आवश्यक रहेको बताएका हुन्।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुटुरोग विश्वव्यापी स्वास्थ्य चुनौतीका रूपमा रहेको उल्लेख गर्दै यसको रोकथाम, समयमै पहिचान र प्रभावकारी उपचारका लागि सरकार, स्वास्थ्य संस्था, विशेषज्ञ चिकित्सक र समुदायबीचको सहकार्य सुदृढ हुनुपर्नेमा जोड दिए।उनले गण्डकी प्रदेश सरकार नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको बताए।

कार्यक्रममा विभिन्न तहमा कार्यरत मुटुरोग विशेषज्ञहरूले मुटुरोगबाट बच्न अपनाउनुपर्ने पूर्वसावधानी, सन्तुलित खानपान, नियमित शारीरिक गतिविधि तथा धुम्रपान र मद्यपानले स्वास्थ्यमा पार्ने असरका विषयमा छलफल गरेका थिए।

मुटुरोग विशेषज्ञ डा. सूर्य देवकोटाले विभिन्न प्राविधिक कार्यपत्र प्रस्तुत गर्दै यस्ता समीक्षा कार्यक्रमले चिकित्सकहरूबीच ज्ञान, अनुभव तथा उपचारमा प्रयोग भइरहेका नवीनतम प्रविधिबारे विचार आदानप्रदान गर्ने अवसर प्रदान गर्ने बताए। उनका अनुसार यस्ता कार्यक्रमले चिकित्सकहरूलाई नयाँ उपचार पद्धतिबारे अद्यावधिक हुन, अनुभव साटासाट गर्न तथा बिरामीलाई थप प्रभावकारी सेवा प्रदान गर्न सहयोग पुग्छ। मुटुरोगको रोकथाम, उपचार तथा विशेषज्ञ सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले सरोकारवालाको सहभागितामा कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए।

सिटीजन फनिच्रर

पोखराको भौगोलिक अवस्था, यहाँको जीवनशैली, शारीरिक गतिविधि तथा मुटुरोगसँग सम्बन्धित जोखिम र समाधानका उपायबारे पर्यटन व्यवसायी बनेशबहादुर भट्टराईले धारणा व्यक्त गरे।

त्यस अवसरमा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, स्वास्थ्यकर्मी, सरोकारवाला तथा मुटुरोगको उपचारपछि स्वास्थ्यलाभ गरेका व्यक्तिहरूले आफ्ना अनुभव साझा गरेका थिए।

यस्ता कार्यक्रमले मुटुरोगसम्बन्धी ज्ञान, अनुभव तथा नवीन उपचार पद्धतिबारे चिकित्सकहरूबीच विचार आदानप्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने हेल्दी हार्ट नेपाल पोखराका उपाध्यक्ष भरतराज पराजुलीले विश्वास व्यक्त गरे। उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने चिकित्सक, अतिथि, सरोकारवाला तथा सहभागीप्रति आभार व्यक्त गरे।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, प्रतिनिधिसभा सदस्य उत्तमप्रसाद पौडेल तथा गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले कार्यक्रममा मुटुरोगले समाजमा पारेको प्रभाव, स्वास्थ्य नीतिसँग सम्बन्धित चुनौती तथा समाधानका उपायबारे धारणा राखेका थिए।

विशेषज्ञहरूले कार्यक्रममा मुटुसम्बन्धी जटिल रोगहरूको उपचार पद्धति, उपचारमा प्रयोग भइरहेका आधुनिक प्रविधि तथा बिरामीको जीवनरक्षा गर्न अपनाइने प्रभावकारी उपायबारे प्राविधिक समीक्षा गरेका थिए। कार्यक्रमको सञ्चालन हेल्दी हार्ट नेपालका सचिव प्रकाश जीसीले गरेका थिए।

Pokhara learners