newa srijana

फेदीखोलामा क्यूआर कोडमार्फत मौरी अनुगमन सुरु

पोखरा । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरीपालन व्यवसायलाई प्रविधिमैत्री बनाउने उद्देश्यले क्यूआर कोडमार्फत मौरीको अनुगमन सुरु गरेको छ। मौरीपालनको सम्भावना बढ्दै गएपछि गाउँपालिकाले अनलाइन प्रणालीमार्फत घारको अवस्था, उत्पादन तथा रोगको निगरानी गर्न थालेको हो।

डिजिटल सूचना प्रविधिमा आधारित भूमिसेवा नेटवर्क ‘बी.भूमि.अर्थ’ प्रणालीमार्फत सञ्चालित क्यूआर कोड जिल्लाकै आँधीखोला गाउँपालिकाका मदन पौडेलले विकास गरेका हुन्। गाउँपालिकाले कृषकलाई अनुदानमा उपलब्ध गराएका मौरीका घारमा क्यूआर कोड जडान गरेपछि डिजिटल अनुगमन प्रणाली सञ्चालनमा ल्याएको हो।

कृषकले पठाएको मौरीसहितको घारको तस्बिर तथा परीक्षणका लागि क्यूआर कोड स्क्यान गरेपछि कोडमार्फत घारको अनुगमन गरिने गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताए। उनका अनुसार घारको अवस्था, रोगको जोखिम, उत्पादनको वर्तमान अवस्था तथा गोला टुक्र्याउने उपयुक्त समयसम्बन्धी जानकारी क्यूआर कोडमार्फत प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।

मौरीपालनलाई आधुनिक र व्यवस्थित बनाउँदै कृषकलाई सुरक्षित र आत्मनिर्भर बनाउने उद्देश्यले क्यूआर कोड प्रणाली लागू गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले हालसम्म ७० प्रतिशत अनुदानमा झण्डै एक हजार मौरीका घार वितरण गरेको छ। कृषकले आफ्नै लगानीमा करिब दुई हजार घार थप गरी हाल झण्डै तीन हजार घारमा मौरीपालन गर्दै आएका छन्।

सिटीजन फनिच्रर

एक वर्षअघि २४ जना कृषकलाई प्रतिव्यक्ति २५ घारका दरले मौरी वितरण गरेसँगै फेदीखोलामा सेरेना मौरी समूह गठन गरिएको थियो। हाल चार वटा समूहमार्फत एक सय २० जना कृषकले व्यावसायिक रूपमा मौरीपालन गर्दै आएका छन्। गाउँपालिकाका अनुसार अनुकूल हावापानी, प्रशस्त चरन क्षेत्र र वनस्पतिको उपलब्धताका कारण मौरीपालन विस्तार हुँदै गएको छ।

आगामी वर्षदेखि ‘एक किसान, कम्तीमा एक घार मौरी’ अवधारणा कार्यान्वयन गर्ने तयारी गरिएको अध्यक्ष सुवेदीले जनाए। उनका अनुसार मौरीपालन व्यवसायलाई ग्रामीण रोजगारी, उद्यमशीलता र आयआर्जनको भरपर्दो आधारका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।

गाउँपालिकाले विद्यालयस्तरमै विद्यार्थीलाई मौरीपालनबारे जानकारी गराउन ‘एक विद्यालय, एक उद्यम’ कार्यक्रममार्फत नौ विद्यालयमा मौरीपालनसम्बन्धी गतिविधि सञ्चालन गर्दै आएको छ। विद्यालयसँगै सहकारीमार्फत मौरीसहितको घार उद्योग स्थापना, महको बजारीकरण, स्थानीय उत्पादनको प्रवर्द्धन, कोसेली घर सञ्चालन तथा चरन क्षेत्रको संरक्षण र विकासका कार्यक्रम अघि बढाइएको गाउँपालिकाले जनाएको छ।

स्थानीय मौरीपालक तथा होमस्टे सञ्चालक खरीकुमारी गुरुङले ४० घार मौरीबाट पछिल्लो एक वर्षमा ४० वटा नयाँ घार बिक्री गर्नुका साथै करिब दुई सय किलो मह र महका चाका बिक्री गरी झण्डै आठ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको जानकारी दिइन्। मौरीपालन व्यवसाय सहज र आम्दानीको राम्रो स्रोत भएको उनले बताइन्।

मौरीपालक कृषक समूहका अध्यक्ष उजिरबहादुर केसीले फेदीखोलाको वातावरण मौरीपालनका लागि अनुकूल भएकाले मेहनत गर्ने कृषक खाली हात बस्न नपर्ने जनाए। उनका अनुसार पछिल्लो समय गाउँपालिकाभित्र करिब दुई सय परिवारको मुख्य आम्दानीको स्रोत मौरीपालन व्यवसाय बन्दै गएको छ।

Pokhara learners