पोखरा । रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जना गर्ने उद्देश्यले पोखरामा ३० दिने सिलाइ तथा कटाइ सीप विकास तालिम सुरु भएको छ। जिसिआरयु (जीसीआरयू) परियोजनाअन्तर्गत सोमबारदेखि सुरु भएको तालिम सर्कुलर इकोनोमी (चक्रिय अर्थतन्त्र) को अवधारणामा आधारित रहेको छ।
तालिमको उद्घाटन गर्दै परियोजनाकी राष्ट्रिय परियोजना प्रबन्धक यमुना सिल्वालले हरित रोजगारी प्रवर्द्धन र वातावरणीय दिगोपनाका लागि यस्ता तालिम प्रभावकारी हुने बताइन्। चक्रिय अर्थतन्त्रका अभ्यासले समुदायलाई आर्थिक रूपमा सशक्त बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास उनले व्यक्त गरिन्।
परियोजनाका मनिटरिङ, मूल्याङ्कन तथा सञ्चार विश्लेषक शशी थापाले तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्दै जीविकोपार्जनमा सुधार ल्याउन र स्वच्छ तथा हरित पोखरा निर्माणमा योगदान दिन सहभागीलाई आग्रह गरे।

विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्रकी सञ्चालक एवं मुख्य प्रशिक्षक सविता श्रेष्ठले तालिमको पाठ्यक्रमबारे जानकारी दिँदै ३० दिनभित्र सहभागीले पुराना कपडाको पुनः प्रयोगमार्फत बजारयोग्य तथा गुणस्तरीय सामग्री उत्पादन गर्न सक्ने बताइन्। उनले तालिमबाट प्राप्त सीपलाई स्वरोजगारसँग जोड्दै पोखराको हरित अभियानलाई सफल बनाउन सहभागीलाई आग्रह गरिन्।
तालिममा पोखरा महानगरपालिकाका विभिन्न वडाका १८ वटा रिसाइक्लिङ तथा अपसाइक्लिङ समूहका ३२ जना महिलाको सहभागिता रहेको छ। सहभागीले पुनः प्रयोग गरिएका कपडाबाट झोला, फूलका गुच्छा, गुडिया तथा मकैको खोस्टाबाट सजावटी फूल र उपहार सामग्री बनाउन सिक्नेछन्।
तालिम सम्पन्न भएपछि सहभागीलाई स्वरोजगारमा प्रोत्साहन गर्ने उद्देश्यले आयोजकका तर्फबाट सिलाइ मेसिनसमेत उपलब्ध गराइने जनाइएको छ। क्लिन अप नेपालको सहजीकरणमा विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्र, अमरसिंहचोकमा सञ्चालन भइरहेको तालिम कोरिया इन्टरनेसनल कोअपरेसन एजेन्सी (कोइका) र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को सहयोग तथा पोखरा महानगरपालिकाको सहकार्यमा सञ्चालित जिसिआरयु परियोजनाअन्तर्गत आयोजना गरिएको हो।
परम्परागत ‘प्रयोग गर र फाल’ भन्ने अर्थतन्त्रको सट्टा फोहोरको न्यूनीकरण, पुनः प्रयोग र पुनः प्रशोधनमार्फत दिगो जीविकोपार्जनका अवसर सिर्जना गर्ने लक्ष्य परियोजनाले राखेको आयोजकले जनाएको छ।




