पोखरा । ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८३’ बाट पत्रकार मीना थापामगर सम्मानित भएकी छन्।
उक्त पुरस्कारअन्तर्गत उनलाई गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतबहादुर शेरचनले नगद १५ हजार रुपैयाँ, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरे। राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिद्वारा स्थापित उक्त पुरस्कार हरेक वर्ष नेपाल मगर पत्रकार सङ्घ कास्कीले प्रदान गर्दै आएको छ।
कार्यक्रममा मन्त्री शेरचनले आदिवासी जनजातिको संस्कार र संस्कृतिलाई जगेर्ना गर्दै लैजानुपर्ने बताए। गण्डकी प्रदेश संस्कृतिमा धनी भएकाले यसको संरक्षण र प्रवर्द्धनमा सबैको साझा प्रयास आवश्यक रहेको उनको भनाइ थियो। प्रदेशका संस्कार र संस्कृति गण्डकी प्रदेशमा मात्रै सीमित नभई अन्य प्रदेशमा समेत परिचित बन्दै गएकाले यसको थप प्रवर्द्धनका लागि सबैले साथ र सहयोग गर्नुपर्नेमा उनले जोड दिए।
संविधानले आदिवासी जनजातिलाई पर्याप्त अधिकार दिएको उल्लेख गर्दै उनले संविधानप्रति नकारात्मक भाष्य निर्माण गर्नु उपयुक्त नहुने बताए। “संविधानले हरेक नागरिकलाई बराबर अधिकार दिएको छ। संविधान गलत छ भन्ने भाष्य निर्माण गर्न नलागौँ,” उनले भने, “समयलाई चिन्न नसक्दा नेपाल पछाडि परेको हो। त्यसैले समयलाई चिन्न सिकौँ।”
आफ्नो समुदायको भाषा, संस्कृति र संस्कारका विषयमा पत्रकारहरूले कलम चलाएर महत्वपूर्ण योगदान पुर्याउनुपर्ने नेपाल मगर सङ्घका केन्द्रीय अध्यक्ष रक्षाबहादुर रैका मगरले बताए। राष्ट्रिय जनगणनाअनुसार मगर समुदाय जनसङ्ख्याका हिसाबले तेस्रो स्थानमा रहे पनि विभिन्न कारणले पछाडि परेको उनको भनाइ थियो।
राज्यको बेवास्ताका कारण लाखौँ मगर समुदाय अझै पनि पछाडि परिरहेकाले आफ्नो समुदायका लागि आफैँ एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको उनले बताए। गण्डकी प्रदेश सरकारले मगर र गुरुङ भाषालाई कामकाजी भाषाका रूपमा लागू गरे पनि कार्यान्वयनमा बाधा र अड्चन देखिएको उनको भनाइ थियो।

सञ्चार क्षेत्रमा महिलाको सहभागिताका विषयमा विशेष ध्यान दिनुपर्ने गण्डकी प्रदेशकी प्रेस रजिस्ट्रार विमला भण्डारीले बताइन्। आदिवासी जनजातिका विषयलाई पत्रकारितामार्फत पहिचान दिलाउँदै उनीहरूको इतिहास जनमानसमाझ पुर्याउनु आजको आवश्यकता रहेको उनले बताइन्।
आदिवासी जनजाति समुदायका महिला पत्रकारलाई प्रोत्साहन गर्न यस्ता पुरस्कारले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो। महिला पत्रकारका लागि प्रेस रजिस्ट्रार कार्यालयले समेत विशेष कार्यक्रम ल्याउन पहल गरिरहेको उनले बताइन्।
सम्मानित पत्रकार मीना थापामगरले उक्त सम्मानले आफूलाई पत्रकारिता क्षेत्रमा अझै योगदान गर्न हौसला मिलेको बताइन्। पत्रकारितामार्फत आफ्नो संस्कार र संस्कृतिका विषयमा योगदान दिन पाउनु आफ्नो सौभाग्य भएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि यस क्षेत्रलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) गण्डकीका उपाध्यक्ष धनबहादुर गुरुङ ‘सुमन’, निट डेन्टलका सञ्चालक वीरेन राना मगरलगायतले कौराहा संरक्षणका लागि स्थापना गरिएको पुरस्कारले मगर समुदायको मौलिक संस्कृति संरक्षणमा टेवा पुग्ने धारणा व्यक्त गरेका थिए।
प्रतिभा छनोट समितिका संयोजक तथा फोनिज गण्डकीका इन्चार्ज रुद्र श्रीस मगरले सम्मानित व्यक्तित्व मीना थापामगरको व्यक्तित्व परिचय गराएका थिए। राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिकी अध्यक्ष नरमाया आले मगरले पुरस्कारलाई आगामी दिनमा अझ परिष्कृत रूपमा निरन्तरता दिँदै जाने बताइन्।
कार्यक्रममा चाउथे कदम मार्ग इकाई समितिले मौलिक कौराहा नृत्य प्रस्तुत गरेको थियो भने मगर सांस्कृतिक सङ्घका सदस्य रमेश थापा मगरलगायतले कौराहासहित विभिन्न गीत प्रस्तुत गरेका थिए।
यस पुरस्कारबाट यसअघि कमला राना मगर, तिलक पुन, प्रताप राना मगर, खेम सारु मगर, एमबी आस्था मगर, मनोज घर्ती मगर, रुद्र श्रीस मगर र शारदा झेडी मगर सम्मानित भइसकेका छन्।




