newa srijana

प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त

पोखरा । प्रेस काउन्सिल नेपालको अध्यक्षमा पत्रकार उमेश श्रेष्ठ नियुक्त हुनुभएको छ।

मन्त्रिपरिषद्को असार २४ गतेको निर्णयअनुसार उहाँलाई अध्यक्षमा नियुक्त गरिएको हो। नवनियुक्त अध्यक्ष श्रेष्ठले सोमबार सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाबाट नियुक्तिपत्र ग्रहण गर्नुभएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार अध्यक्ष पदका लागि खुला प्रतिस्पर्धामार्फत छनोट प्रक्रिया सम्पन्न गरिएको थियो। अन्तिम संक्षिप्त सूचीमा श्रेष्ठसहित १० जना उम्मेदवार रहेका थिए। सूचीमा केदारनाथ कोइराला, गोविन्दप्रसाद भण्डारी, जनक नेपाल, नुमाकान्त पौडेल, बालकृष्ण चापागाईं, भुवनप्रसाद आचार्य, रुद्रबहादुर खड्का, लेखनाथ न्यौपाने र शन्तराम बिडारीको नाम समावेश थियो।

Mountain run pokhara click
सिटीजन फनिच्रर

लामो समयदेखि पत्रकारितामा सक्रिय श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर उपाधि हासिल गर्नुभएको छ। उहाँ पछिल्लो समय नेपाल फ्याक्टचेकका सम्पादकका रूपमा कार्यरत हुनुहुन्थ्यो। यसअघि उहाँ माइसंसार डटकमसँग आबद्ध रहनुभएको थियो।

श्रेष्ठ सिएमआर नेपाल जर्नालिज्म एकेडेमीमा प्रमुख प्रशिक्षकका रूपमा कार्यरत रहँदै डिजिटल अनुसन्धान, डेटा पत्रकारिता, कृत्रिम बुद्धिमत्ता (एआई) तथा मिथ्या सूचना (फ्याक्ट–चेकिङ) सम्बन्धी विषयमा पत्रकारलाई प्रशिक्षण दिँदै आउनुभएको छ। उहाँ सञ्चार तथा मिडिया नीतिका जानकारका रूपमा पनि परिचित हुनुहुन्छ।

नियुक्तिपत्र प्रदान गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले प्रतिस्पर्धात्मक प्रक्रियाबाट छनोट भएका नेतृत्वले नियामक निकायको भूमिकालाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले निष्पक्ष, पारदर्शी र परिणाममुखी ढङ्गले जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।

प्रेस काउन्सिल नेपालले सञ्चारमाध्यमको वर्गीकरण, पत्रकार आचारसंहिताको कार्यान्वयन तथा सरकार र सञ्चारमाध्यमबीच समन्वयकारी भूमिका निर्वाह गर्दै आएको छ।

Rabin photo