पर्वत ।
पर्वतको कुश्मा नगरपालिका ९ सिल्मी स्थित एकोहोरे पाखामा भएको ट्याक्टर दुर्घटनामा चालक सहित दुई जनाको मृत्यु भएको छ । शनिबार दिउँसो भएको दुर्घटनामा कुश्मा नगरपालिका ३ दुर्लुङका ३० वर्षीय सुजन नेपाली र कुश्मा नगरपालिका १० कटुवा चौपारीका १४ वर्षीय शिशिर लामिछानेको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार सदरमुकाम कुश्माबाट ज्ञादी तर्फ जाँदै गरेको ग१त ७२७३ नम्बरको ट्याक्टर सडकबाट अनियन्त्रित भई करिब १ सय मिटर तल खसेको थियो । दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
दुर्घटनामा स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका ५ आरुचौरका २२ वर्षीय उदय सापकोटा घाइते भएका छन् । उनको प्रदेश अस्पताल पर्वतमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटना पछि सशस्त्र प्रहरी बलको चण्डिका गण र जिल्ला प्रहरी कार्यालय पर्वतको टोली घटनास्थल पुगेको थियो । उद्धार टोलीले मृतकको शव निकाल्नुका साथै घाइतेको उद्धार गरेको थियो ।




