पोखरा । नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजका अवसरमा पोखरा महानगरपालिका–१ स्थित पुरानो टुँडिखेलमा ‘ऐतिहासिक टुँडिखेल तीज महोत्सव–२०८३’ आयोजना हुने भएको छ। इन्द्रेणी एकीकृत विकास केन्द्र, पोखरा–१ ले महोत्सव आयोजना गर्न लागेको हो।
महोत्सवलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न आयोजकले स्थानीय निकाय, सरोकारवाला, विभिन्न सङ्घसंस्था, राजनीतिक दलका प्रतिनिधि, आमा समूह तथा क्लबका प्रतिनिधिसँग छलफल गरी सुझाव सङ्कलन गरेको छ। छलफलमा सहभागीहरूले महोत्सव सफल बनाउन आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
आयोजक संस्थाका अध्यक्ष भानुभक्त अधिकारीले नेपाली मौलिक कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि करिब दुई दशकदेखि तीजगीत प्रतियोगिता आयोजना गर्दै आएको बताए। उनले २०७६ सालमा पहिलोपटक तीज मेला आयोजना गरिएको र कोभिड–१९ महामारीका कारण दुई वर्ष रोकिएपछि त्यसलाई तीज महोत्सवका रूपमा निरन्तरता दिइएको जानकारी दिए।

महोत्सवको मिति केही दिनभित्र सार्वजनिक गरिने अध्यक्ष अधिकारीले बताए।
उनका अनुसार नेपाली कला र संस्कृतिको संरक्षणसँगै पोखरा–१ को गाईघाट क्षेत्रमा निर्माणाधीन क्रियापुत्री भवन निर्माणका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो।
महोत्सवमा मौलिक तीजगीत प्रतियोगिता, तीज गृहिणी नृत्य प्रतियोगिता, टपरी गाँस्ने प्रतियोगिता, विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता तथा गण्डकी प्रदेशस्तरीय छेलो प्रतियोगिता आयोजना गरिनेछ। साथै दैनिक उपभोग्य सामग्री, कृषि, हस्तकला, बैंक तथा वित्तीय संस्था, लत्ताकपडा र रेष्टुरेन्टका स्टल रहनेछन्। राष्ट्रिय तथा स्थानीय कलाकारको सांस्कृतिक प्रस्तुति र बाल उद्यान पनि महोत्सवको आकर्षण रहने आयोजकले जनाएको छ।




