newa srijana

पोखराका धार्मिक सम्पदालाई पर्यटकीय सर्किटका रूपमा विकास गरिन्छ : प्रमुख आचार्य

सितापाइला घाटको पूर्वाधार उद्घाटन, सेती नदी किनारका धार्मिक स्थल संरक्षण र प्रवर्द्धनमा जोड

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराका धार्मिक तथा सांस्कृतिक सम्पदालाई समेटेर धार्मिक पर्यटकीय सर्किटका रूपमा विकास गरिने बताएका छन्। उनले धार्मिक स्थलको संरक्षण र पूर्वाधार विकासले धार्मिक पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

पोखरा महानगरपालिका–१७, महतगाउँस्थित सितापाइला घाटको व्यवस्थापन तथा पूर्वाधार निर्माण सम्पन्न भएपछि आयोजित उद्घाटन कार्यक्रममा प्रमुख आचार्यले प्राकृतिक सम्पदासँगै धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षण र प्रवर्द्धनलाई महानगरले प्राथमिकतामा राखेको बताए।

उनले दृढ इच्छाशक्ति, इमान्दारिता र पारदर्शितासहित सञ्चालन गरिने विकास आयोजना गुणस्तरीय हुने उल्लेख गर्दै आयोजनाको प्रभावकारिता कायम राख्न स्थानीय समुदायको निगरानी र सक्रिय सहभागिता आवश्यक रहने बताए।

प्रमुख आचार्यले धार्मिक पर्यटकीय सर्किट निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकको बसाइ अवधि बढ्नुका साथै स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे।

सिटीजन फनिच्रर

वडा नं. १७ का अध्यक्ष राधिका शाही योगीले सितापाइला घाटको व्यवस्थापन सम्पन्न भएसँगै सेती नदीमा स्नान गर्न आउने भक्तजन तथा अन्त्येष्टिका लागि आउने परिवारलाई थप सुविधा पुग्ने बताइन्। उनले धार्मिक आस्था, संस्कार र संस्कृतिसँग जोडिएका यस्ता स्थलको संरक्षण र व्यवस्थित विकास महानगरको प्राथमिकतामा रहेको उल्लेख गरिन्।

सिँढी बाटो निर्माण तथा सिताघाट व्यवस्थापन समितिका कोषाध्यक्ष लेखनाथ चालिसेका अनुसार पोखरा महानगरपालिका, विभिन्न सङ्घसंस्था तथा स्थानीयवासीको सहयोगमा ५१ लाख ७९ हजार रुपैयाँ लागतमा घाट व्यवस्थापन तथा आवश्यक पूर्वाधार निर्माण सम्पन्न गरिएको हो।

उनका अनुसार आयोजनाका लागि पोखरा महानगरपालिकाले २७ लाख ८६ हजार ८१२ रुपैयाँ तथा विभिन्न सङ्घसंस्था र व्यक्तिबाट २३ लाख ९९ हजार ३९२ रुपैयाँ सहयोग प्राप्त भएको थियो।

सिँढी बाटो निर्माण तथा सिताघाट व्यवस्थापन समितिका अध्यक्ष लोकराज कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि शिवराम भण्डारी, सदाशिव सिद्धेश्वर हरिहर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र शर्मा भण्डारी, समाजसेवी नगेन्द्र गुरुङ, विक्रम भण्डारीलगायतले बाटो निर्माणसँगै सेती नदी किनारमा रहेको करिब ५० रोपनी सार्वजनिक जग्गाको संरक्षण तथा प्राचीन ढुङ्गेसाँघु मेलास्थलको व्यवस्थित विकास आवश्यक रहेकोमा जोड दिएका थिए।

Pokhara learners