पोखरा । कास्की प्रहरीले पोखरा महानगरपालिका–२६, विजयपुर क्षेत्रमा अवैध रूपमा माटो उत्खननमा प्रयोग भइरहेको एक स्काभेटर र तीन वटा टिप्पर नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका सवारीसाधनलाई आवश्यक कारबाहीका लागि पोखरा महानगरपालिकामा बुझाइएको थियो।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार साउन ७ गते दिउँसो करिब २:३० बजे अवैध प्राकृतिक स्रोतको दोहन भइरहेको सूचनाका आधारमा प्रहरी टोली घटनास्थल पुगेको थियो। सो क्रममा माटो लोड गरिरहेको अवस्थामा एक स्काभेटर र तीन वटा टिप्पर नियन्त्रणमा लिइएको हो।

पोखरा महानगरपालिकाले घटनामा संलग्न सवारीसाधनमाथि ७५ हजार रुपैयाँ जरिवाना गरी छाडेको जनाएको छ।
नियन्त्रणमा परेका सवारीसाधनमा ग १ क ३७८८ नम्बरको स्काभेटर, ग १ ख ७७६६ नम्बरको टिप्पर, बा १ क ८१७७ नम्बरको टिप्पर र लु १ ख २९२० नम्बरको टिप्पर रहेका छन्।
प्रहरीले नदीजन्य पदार्थ तथा माटोको अवैध उत्खनन र प्राकृतिक स्रोतको दोहन नियन्त्रणका लागि अनुगमन तथा कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।




