newa srijana

भूमिहीन सुकुम्बासीको उचित व्यवस्थापनपछि मात्र बसपार्क निर्माण गर्न माग

पोखरा–९ का भूमिहीन तथा अव्यवस्थित बसोबासीले जग्गाको सुनिश्चितताबिना स्थानान्तरण स्वीकार नगर्ने

पोखरा । पोखरा महानगरपालिका–९ बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले उचित व्यवस्थापन र जग्गाको सुनिश्चिततापछि मात्र बसपार्क निर्माण प्रक्रिया अघि बढाउन आग्रह गरेका छन्।

भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार संघर्ष समिति, कास्कीले शुक्रबार पत्रकार सम्मेलन गरी आधुनिक बसपार्क निर्माणप्रति आफूहरू सकारात्मक रहे पनि प्रभावित परिवारको उचित व्यवस्थापन नगरी स्थानान्तरण गर्न नसकिने जनाएको हो।

पोखरा महानगरपालिकाले बसपार्क निर्माणका लागि विभिन्न चरणमा संवाद र समिति गठन गरे पनि प्रभावित परिवारको स्थायी व्यवस्थापनबारे स्पष्ट निर्णय हुन नसकेको समितिका संयोजक प्रेमबहादुर गुरुङले बताए। उनले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई प्याकेजमा उपयुक्त स्थानमा व्यवस्थापन गरी जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) दिने सुनिश्चितता हुनुपर्ने माग गरे।

Mountain run pokhara click
सिटीजन फनिच्रर

समितिले स्थानान्तरण गरिने स्थानमा खानेपानी, विद्युत्, सडक, स्वास्थ्य र शिक्षालगायतका आधारभूत पूर्वाधारको व्यवस्था गर्नुपर्ने, प्रत्येक परिवारलाई चार आनाका दरले घडेरी उपलब्ध गराई नगर कार्यपालिकाबाट स्थायी व्यवस्थापनको निर्णय गरी लालपुर्जा वितरण प्रक्रिया अघि बढाउनुपर्ने माग गरेको छ।

हाल बसोबास गरिरहेको स्थान खाली गरेबापत प्रतिपरिवार १५ हजार रुपैयाँ उपलब्ध गराउने प्रस्ताव स्वीकार्य नभएको समितिले जनाएको छ। जग्गाको सुनिश्चितता नगरी आर्थिक सहायता दिएर विस्थापित गर्न खोजिएको भन्दै समितिले त्यसप्रति आपत्ति जनाएको हो।

समितिले बसपार्क निर्माण हुने क्षेत्रफल, डिजाइन तथा सेती नदीको मापदण्ड सार्वजनिक गर्न, शिवटोल, पार्वतीटोल र शुभकामना टोलमा रहेका घरधुरीको जग्गाको स्वामित्वबारे स्पष्ट जानकारी दिन तथा संघर्ष समितिको समन्वयमा सहजीकरण समिति गठन गरी संवादमार्फत समस्या समाधान गर्न पनि माग गरेको छ।

समितिले प्रभावित परिवारको सम्मानजनक व्यवस्थापन सुनिश्चित गरी सहमतिका आधारमा मात्र बसपार्क निर्माण प्रक्रिया अघि बढाउनुपर्ने धारणा व्यक्त गरेको छ।

Rabin photo